खिकाला हत्याकाण्डका आरोपित दर्जन बढी घटनामा मुछिएका थिए, तर किन पक्राउ परेनन् ?

बझाङ दलित बालिका सीता कामीको बलात्कारपछि हत्यासँगै अहिले सबैको ध्यान खिकाला गाउँतिर छ । तर खिकाला आफ्नै लागि भने यो नयाँ प्रकरण होइन । मष्टा २ खिकालाको मन्दिरभित्र बलात्कारपछि बालिका हत्या घटनामा संलग्न रहेको उजुरीपछि प्रहरीले राजेन्द्र बोहरालाई समातेको छ ।

राजेन्द्र सबै स्थानीयका मुख मुखमा जपिने कुख्यात व्यक्ति ठहरिएका रहेछन् । अहिले मन्दिरभित्र क्षतविक्षत अवस्थामा बालिकाको शव भेटिदा मात्रै यो घटना बाहिरियो । त्यो शव गाडिएको वा मन्दिर नजिकैको खोलामा फ्याँकिएको भए घटनाले अर्कै मोड लिनसक्ने सम्भावना औंल्याए, स्थानीय शिक्षक वीरेन्द्र अधिकारीले । शिलापत्रले यसै पृष्ठभूमिमा यो फलाेअप तयार पारेको छ ।

यसअघिका घटना के थिए ? कसरी गाउँमै मिलाइए ?

खिकालामा दलित समुदायको बाहुल्य छ । तर दलितले दैनिकी गुजार्न त्यहाँका गैरदलितहरुसँगै खलो मागी खानुपर्ने स्थिति छ । एकातिर गाउँमा शिक्षित व्यक्ति नगण्य मात्रामा छन् । अर्कातिर दलित पुरुषहरु सबै भारतमा छन् । गाउँमा दलितका महिला र बालबालिका मात्रै हुँदा गैरदलितको हुकुम चलेको देखिन्छ । यही हुकुमसँग जोडिएका छन्, आरोपीत तथा पक्राउ परेका राजेन्द्र बोहरा ।

घटना नम्बर- १ : 

उनीमाथि एक महिना अघि गाउँभन्दा तल खोलामा रहेको पानीघट्टभित्र सरिता कामी (नाम परिवर्तित) लाई बलात्कार गर्न खोजेको पीडित र उनका दाजुभाउजुले शिलापत्रसँग जानकारी दिएका छन् । प्रहरीले पनि यो घटनाबारे पीडितको बयान लिइसकेको छ । उनले बयानमा मरणासन्न हुनेगरी आफ्नो घाँटी चेपेको, अनुहारमा मुक्का प्रहार गरेको र कानमा भएका सुनका गहना दिने भए देउ नत्र मारेर खोलामा बगाइदिन्छु भन्दै जबरजस्ती करणी गरेको बताएकी छन् ।

सरिताका दाजुभाउजूले पनि तीन दिनपछि मात्रै गाउँमा हल्लाखल्ला भएपछि थाहा पाएको र राजेन्द्रका घरमा गएर कुरा गरेको बताएका छन् । कुराकानीका क्रममा राजेन्द्रका बुबाआमा केही गैरदलित व्यक्तिले थामथुम पारे । ‘साना भाइबहिनी हुन्, यत्ति हुनु त सामान्य हो नि’ भन्दै पीडित किशोरीलाई रु ५०० दिए । त्यसपछि विरोधमा कसैले बोल्न सकेन ।

घटना नम्बर- २ :

बालिका बलात्कारपछि घटनाको अनुसन्धानमा गएको प्रहरीले एक पुरानो तर यस्तै प्रवृत्तिको घटना पत्ता लगाएको छ । घटना पोहोर मंसिर महिनाको हो । एक ११ वर्षीय बालक पनि अहिलेको सिम मन्दिरभन्दा गाउँ जाने बाटो तर्फ करिब ५०० मिटर दूरीको फरक ठाउँमा मृत अवस्थामा भेटिएका थिए । ती बालक हुन् खिकालाकै बिमल कामी । उनका पनि कानमा मुन्द्रा लगाइएका थिए । गोठालामा गएका उनी पनि कोरेली भन्ने ठाउँ जाने बाटोभन्दा अलि माथि मृत भेटिएका थिए । मृतक बालकका बाजेका अनुसार मृत फेला परेका कामीको पनि निधार र घाँटीमा चोट पटक थियो । तर एक कानमा लगाइएको मुन्द्रा गायब थियो ।

गोठालो गएको बेला नजिकै रहेको सल्लाको रुखबाट लड्यो होला भन्ने सबैले अनुमान लगाए । ती बालकका पनि बुबाआमा पनि भारतमै थिए । भारतमा रहेका मृतक बालकका बुबा शेरबहादुर कामीले पनि बुढाबुढी आमाबुबाको जिम्मामा कलिलो छोरोलाई छोडेर गएका थिए । घटनापछि शेरबहादुर कामीले पनि लडेकै होला भनेर पत्याए र गाउँलेहरुलाई अब शवलाई गाडी दिनुहोला भन्दै फोनमा कुराकानी गरेका थिए । तर यस घटनाले अहिले फरक मोड लिएको छ ।

ससाना बालबालिकाहरु अहिले बताइरहेका छन्, पक्राउ परेका बोहरा उनीहरुलाई अक्सर धम्क्याउने गर्थे । ती बालबालिकाले शिलापत्रलाई बताए अनुसार आरोपित राजेन्द्रले ‘त्यो बिमलको हत्या गरी सुन मैले नै लगेको हुँ । अब तिमीहरुलाई पनि मारिदिन्छु बिचार गर्नु । यो कुरा कसैलाई भने त्यसको पनि हालत त्यही हुन्छ’ भन्दै हप्तैपिच्छे ५० भन्दाबढी हरेक बढि रकम असुली गर्ने गरेका थिए । उसको डरले अहिलेसम्म पनि त्यो घटनाका बारेमा कसैलाई नभनेको बालबालिकाले बताएका छन् ।

घटना नम्बर- ३ :

गाउँमा सबैभन्दा फरक थिए आरोपित राजेन्द्र बोहरा । उनी कहाँ जान्थे ? के गर्थे ? कसैलाई पत्तो हुँदैन थियो । उनका साथ एकदूई अन्य व्यक्ति पनि थिए । ती सबै मिलेर खिकाला गाउँमा हप्ताको दुई तिन पटक बढी चोरी हुन्थ्यो । राजेन्द्रले कसैले बृद्धभत्ता वा कसैले बालपोषण भत्ता बुझेको थाहा पाएपछि त्यो घर जुनसुकै हालतमा तोडफोड गरी चोरी गर्ने गरेको खिकालाका अर्जुन बोहराले बताए । गाउँमा चोर्न बाँकी कुनै घर नै नरहेको दलितहरु बताउँछन् । उनीहरु भन्छन् ,‘बाटोमा गहना लगाएकी एक महिला बाटोमा देखे । तेरो कानको गहना लुट्छु भन्दै धम्की दिन्थ्यो ।’
गाउँका पसल र घर कुनै पनि बाँकी नरहेको अर्का स्थानीय युवा डबल बुढाले बताए ।

आमाबुबा नै ‘वकिल’ 

हरेक घटना घट्नासाथ राजेन्द्रका बुबाआमा घटना मिलाउन पुग्थे । उनीहरुले बालक हो । मेरो छोरो चोरी गर्दैन् । उ होइन भनेर ढाकछोप गर्ने गरेको स्थानीयहरु बताउँछन् । यति धेरै घटना भए पनि एउटा स्वास्थ्यकर्मी महिलाले मात्रै इलाका प्रहरी मष्टामा मौखिक उजुरीको इलाका प्रहरी प्रमुख असई राजेश भाटले बताए । उनले भने, ‘आज गाउँमा आएर मात्रै स्थानीयको कुरा सुनेर मात्रै थाहा भो । हामीकहाँ त एउटा मात्रै मौखिक उजुरी आएको हो । त्यो बाहेक केही थाहा थिएन । आज गाउँलेका कुरा सुन्दा म अचम्मित भएँ ।’

राजेन्द्रले गाउँलाई सताएको कुरामा उनका बुबाआमा पनि नकार्न सक्दैनन् । प्रहरीले पनि १८ वर्ष नकटेकाले राजेन्द्रलाई समाप्त सकेन । हरेक ठाउँमा साथ मिलेपछि राजेन्द्रलाई प्रश्रय मिल्दै गएको देखिन्छ । उनी ७ कक्षामा पढ्ने विद्यार्थी हुँदा र उमेर कम हुँदा सबैले अचम्मित पर्नु स्वाभाविक हो तर उनको शारिरिक बनावट भने वयस्क तन्नेरीको जस्तै देखिने गरेको प्रहरी नायव निरिक्षक रुपक खड्काले बताए । राजेन्द्रले मुख नखोले पनि गाउँमा भएका घटनामा आफू संलग्न रहेको तर बलात्कारपछि हत्या गरिएकी बालिका नाम परिवर्तित सिताका कामीको सन्दर्भमा नबोलेकाले गाउँका हरेक कुराले उनको झुटलाई सत्य सावित गर्नुपर्ने डिएसपी खड्का बताउँछन् ।सिलापत्र डट कम


Loading...