बझाङ- चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा २ जना लाई जमानतमा छोडिएको छ । जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा चितुवाको छाला र हड्डीसहित पक्राउ परेका बुङगल नगरपालिका-६ हरजित बोहरा र वीरेन्द्र बोहरालाई वडा नं ६ का वडा अध्यक्ष धनबहादुर सिंहको जिम्मामा छोडिएको हो । हड्डी र छालाको विधि विज्ञान परीक्षणका लागि काठमाडौं पठाउनु पर्ने र लकडाउनका कारण तत्काल त्यो सम्भव नभएकाले आवश्यक पर्दा हाजिर हुने गरी पक्राउ परेकाहरुको अनुसन्धान नगरी छोडिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन अनुसार ध्वाँसे चितुवा मार्ने, घाइते बनाउने, खरिद बिक्री गर्ने आखेटो पहार राख्ने, खरिद बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाख देखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजायको प्रावधान छ । चितुवाको हकमा २० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँ सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । बरामद भएको छाला र हड्डी कुन चितुवाको हो भनेर प्रयोगशालामा परीक्षण गरे पछि मात्रै थाहा हुने डिभिजन वन कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिए लगतै सदरमुकाम आएका वडाध्यक्ष सिंहले पक्राउ परेकालाई छुटाउनका लागि प्रहरी, सरकारी वकिल र डिभिजन वन कार्यालयका अधिकारीहरुसँग लविङ सुरु गरेका थिए । सदरमुकामस्थित एक होटलमा प्रहरी इन्सपेक्टर सँग एक जना कानुन व्यवसायीसहित राखेर उनीहरुलाई छुटाउन कुरामा मोलमोलाइ समेत गरेको स्रोतले जनाएको छ ।
कोरोनाका कारण तत्काल बरामद बस्तुको परीक्षण सम्भव नभएकाले सरकारी वकिल कार्यालयको राय अनुसार अनुसन्धाननै नगरी जमानतमा छोडेको सहायक वन अधिकृत मनोज ढकालले बताए । अधिकृत ढकालका अनुसार पक्राउ परेकाहरुले चितुवा आफैंले मारेको र अर्का एक जना मानिस पनि संलग्न रहेको स्विकार गरेका छन् । चितुवाको छाला र हड्डी बोकेर धनगढीतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले बागथलाबाट नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट २ थान चितुवाको छाला र ९ किलो हड्डी बरामद भएको थियो ।
अनुसन्धानको क्रममा रहेका र अपराध स्विकार गरिसकेका व्यक्तीलाई छोड्न नमिल्ने कानुनी प्रावधान रहेको छ । तर सरकारी वकिलको कार्यालयले परीक्षणको प्रतिवेदन नआउँदा सम्म हाजिरी जमानीमा छोड्ने राय दिएको र वडा अध्यक्षले नै जमानतमा बस्न तयार भएकाले नियन्त्रमा लएकालाई छोडिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण बहादुर खातीले बताए ।