बुंगल अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

Image

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएकोमा थप खोजीका क्रममा एक बालिकाको शव फेला परेसँगै मृतकको संख्या चार पुगेको हो।
मिति २०८३ साल कार्तिक ३० गते बिहान करिब १० बजेर २० मिनेटमा टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९ सय मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० की अन्दाजी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा, ५ देखि ६ वर्षीया डल्ली महरा र अन्दाजी ४ वर्षीया रियास महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, अटोमा सवार सोही ठाउँका अन्दाजी १२ देखि १३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको बुझिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेक, इलाका प्रहरी कार्यालय बुङ्गल तथा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले खोज तथा उद्धार कार्यसँगै घटनाबारे अनुसन्धान अघि बढाएको छ।

दुर्घटनामा संलग्न अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन