निवर्तमान वडाअध्यक्ष बिष्टको पहलमा सुनकुडा माविमा घेरबार र गेट निर्माणका लागि ३० लाख बजेट विनियोजन

Image

बझाङ — बित्थडचिर गाउँपालिका–९ मा अवस्थित सुनकुडा नमुना माध्यमिक विद्यालयमा घेरबार र गेट निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय सुधार हुँदै आए पनि घेरबारको अभावका कारण विद्यालय परिसरमा गाईवस्तु प्रवेश गर्ने तथा विद्यालय बिदा भएको समयमा विद्यालयको सुरक्षा व्यवस्थामा चुनौती देखिँदै आएको थियो। यस समस्यालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रसादबहादुर बिष्टको पहलमा सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आर्थिक वर्षको बजेटमा घेरबार निर्माणका लागि १५ लाख रुपैयाँ र गेट निर्माणका लागि १५ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँ विनियोजन गरिएको हो।

विद्यालयमा घेरबार र व्यवस्थित गेट निर्माण भएपछि विद्यालय परिसरको सुरक्षा व्यवस्था मजबुत हुने, गाईवस्तुको प्रवेश नियन्त्रण हुने तथा विद्यालयको भौतिक संरचनाको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रसादबहादुर बिष्ट यसअघि वि.सं. २०७४ देखि २०७९ सम्म बित्थडचिर गाउँपालिका–७ का वडा अध्यक्षका रूपमा कार्यरत थिए। उक्त कार्यकालमा उनले शिक्षा तथा खेलकुद क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीय स्तरमा चर्चा हुने गरेको छ। विद्यालयको शैक्षिक वातावरणलाई थप सुरक्षित र व्यवस्थित बनाउन घेरबार तथा गेट निर्माणका लागि बजेट विनियोजन हुनु सकारात्मक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्