काठमाण्डौं । पछिल्ला केही दिनदेखिको लगातारको वर्षाको गतिविधि आज (आइतबार)देखि नै क्रमशः कमजोर हुँदैछ । आज रातिको समयमा केही ठाउँमा वर्षा भए पनि भोलि (सोमबार)देखि भने मौसममा उल्लेख्य सुधार हुँदै जाने देखिन्छ । विशेष गरी तराईमा वर्षाका गतिविधि निकै कम हुनेछन् भने पहाडका थोरै ठाउँमा मात्रै हल्का वर्षा हुन सक्छ । धेरैजसो ठाउँमा घाम लाग्ने र वर्षाका कारण प्रभावित जनजीवन क्रमशः सामान्य बन्दै जाने देखिन्छ ।
औसत मौसमी तथ्याङ्कलाई आधार मान्दा यस वर्षको मनसुनको अवधि अब झण्डै एक हप्ता अर्थात् ६ दिन जतिमात्र बाँकी छ । यद्यपि, हरेक वर्ष मनसुन नेपालबाट बाहिरिने मितिमा केही दिनको तलमाथि हुने गर्छ । त्यसैले औसत मितिका आधारमा मनसुन सकिने समय अनुमान गरिए पनि वास्तविक रूपमा मनसुन बाहिरिने प्रक्रिया मौसमको अवस्थाअनुसार केही अगाडि वा पछाडि हुन सक्छ ।
हाल सक्रिय मौसमी प्रणालीसमेत कमजोर हुँदै गएकाले मनसुनको प्रभाव पनि क्रमशः घट्दै जाने सम्भावना छ । अझ महत्त्वपूर्ण कुरा के हो भने मनसुन कमजोर हुँदै गएपछि फेरि अर्को ठूलो मौसमी प्रणाली तत्काल विकास हुने सम्भावना कम देखिएको छ । साप्ताहिक मौसम पूर्वानुमानलाई हेर्दा आउँदो हप्ताको मध्य र अन्त्यतिर समेत देशमा उल्लेख्य वर्षा गराउने खालको ठूलो मौसमी प्रणाली विकास हुने संकेत देखिँदैन । त्यसैले अहिलेको वर्षा गतिविधि कमजोर भएपछि तत्कालै अर्को ठूलो पानी पार्ने प्रणाली आउने सम्भावना हालको विश्लेषणले देखाउँदैन । यद्यपि, मौसम पूर्वानुमान पूर्ण रूपमा स्थिर विषय नभएकाले नयाँ प्रणाली विकास भएमा पूर्वानुमान पनि त्यही अनुसार अद्यावधिक हुने भएकाले आधिकारिक सूचना नियमित हेर्नुपर्ने हुन्छ ।























