रेडियो बुङ्गल एफएम ९८.३ मेगाहर्ज दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश

Image

बझाङको बुङ्गल नगरपालिका–४, बिजगडाबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो बुङ्गल एफएम ९८.३ मेगाहर्जले आफ्नो प्रसारण यात्राको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।

संविधान दिवसको अवसर पारेर २०८१ साल असोज ३ गतेदेखि १०० वाट क्षमतामा नियमित प्रसारण सुरु गरेको रेडियो बुङ्गलले आज दुई वर्ष पूरा गरेको हो। सामाजिक रूपान्तरणका लागि सञ्चार समूहद्वारा सञ्चालित रेडियो बुङ्गल दैनिक १८ घण्टा प्रसारण हुँदै आएको छ

रेडियो बुङ्गलको प्रसारण बझाङसँगै बैतडी, दार्चुला, डडेलधुरा र डोटीका अधिकांश क्षेत्रमा विद्युतीय तरंगमार्फत तथा अनलाइन माध्यमबाट विश्वभर पुगिरहेको रेडियोले जनाएको छ।

रेडियोले आफ्नै उत्पादनका कार्यक्रमसँगै राष्ट्रिय प्रसारण संस्थाहरूसँग सहकार्य गरी समाचार तथा विभिन्न सामग्रीसमेत श्रोतामाझ पुर्‍याउँदै आएको छ।

दुई वर्षको यात्रामा विश्वास, साथ, सहयोग र हौसला प्रदान गर्ने श्रोता, पाठक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, संघ–संस्था, पत्रकार, सञ्चारकर्मी तथा सम्पूर्ण बुङ्गलवासीप्रति रेडियो बुङ्गलले हार्दिक आभार व्यक्त गरेको छ।

रेडियोका कार्यकारी निर्देशक सुरेश धामीले रेडियोलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण श्रोता, विज्ञापनदाता, सहयोगी तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। सामुदायिक रेडियो सञ्चालनका क्रममा आर्थिक अभावका कारण कर्मचारीको तलब व्यवस्थापन, रेडियोका सामग्री तथा उपकरणको मर्मतलगायतका चुनौती रहेको उहाँले बताउनुभयो।

यस्तै, रेडियोका स्टेसन म्यानेजर प्रशान्त बोहराले रेडियो बुङ्गलले बुङ्गल क्षेत्रका श्रोताको आवश्यकता र रुचिअनुसार मनोरञ्जनात्मक कार्यक्रमसँगै शिक्षा, स्वास्थ्य, जनचेतना तथा समाचार सामग्री उत्पादन र प्रसारण गर्दै आएको बताउनुभयो। राष्ट्रिय प्रसारणसँग सहकार्य गर्दै विभिन्न सूचना तथा समाचारसमेत श्रोतामाझ पुर्‍याउँदै रेडियो सूचना प्राप्त गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ छ।

बुङ्गल नगरपालिका जस्तो दुर्गम क्षेत्रमा रेडियो अझै पनि सूचना, शिक्षा, मनोरञ्जन र जनचेतनाको प्रभावकारी माध्यमका रूपमा रहेको भन्दै बोहराले स्थानीय सरकार तथा जनप्रतिनिधिबाट थप सहयोग र सहकार्य हुन सके आगामी दिनमा नयाँ कार्यक्रम, डिजिटल प्रविधि र आधुनिक सञ्चार माध्यममार्फत रेडियोलाई थप प्रभावकारी बनाउँदै लैजान सकिने बताउनुभयो।

दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियो बुङ्गलले आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनउत्तरदायी पत्रकारितामार्फत समुदायको आवाजलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने प्रतिबद्धता जनाएको छ।

रेडियो बुङ्गल एफएम ९८.३ मेगाहर्ज — हृदयको स्पन्दन।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन