बझाङ । अरूको जीवन बचाउने सपना बोकेर चिकित्सकीय सेवामा लागेका बझाङका युवा डाक्टर मानबहादुर बोहरा अहिले आफ्नै आमाको जीवन बचाउन संघर्ष गरिरहनुभएको छ। बुङ्गल नगरपालिका–१ गोइचनका डा. बोहराकी आमा अम्ता देवी बोहरा गत भदौ ९ गते बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको हो। उहाँको मेरुदण्डमा गम्भीर चोट लागेपछि शरीरको तल्लो भाग नचल्ने अवस्था रहेको बताइएको छ। हाल उहाँको काठमाडौंस्थित पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। लामो समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने र ठूलो रकम खर्च भइरहेको अवस्थामा परिवार आर्थिक संकटमा परेको छ। यही कठिन समयमा बुङ्गल नगरपालिका–४ स्थित खिरातडी स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारीहरूले सहयोगस्वरूप ५० हजार ६ सय १९ रुपैयाँ संकलन गरी डा. बोहराको खातामा जम्मा गरिदिएका छन्।
स्वास्थ्य चौकी प्रमुख वेद प्रकाश जोशीले खिरातडी स्वास्थ्य चौकीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले आमाको उपचारमा सहयोग पुगोस् र परिवारलाई कठिन अवस्थामा केही राहत मिलोस् भन्ने उद्देश्यले कर्मचारीहरूबाट रकम संकलन गरिएको बताउनुभयो। संघर्षबाट डाक्टर बनेका बोहरा बुङ्गल नगरपालिका–१ को दुर्गम गाउँ गोइचनमा जन्मिनुभएका डा. बोहराको जीवन संघर्ष र मेहनतको उदाहरण हो। बाल्यकालमै बुबाको निधन भएपछि आमाको संघर्षमा हुर्किनुभएका उहाँले आर्थिक अभावका बीच पनि पढाइलाई निरन्तरता दिँदै डाक्टर बन्ने सपना पूरा गर्नुभयो। एमबीबीएस पूरा गरेपछि जोगबुडा अस्पताल, डडेल्धुरा अस्पताल र बझाङ जिल्ला अस्पतालमा करिब दुई वर्ष बिरामीको सेवा गर्नुभएका बोहरा हाल छात्रवृत्तिमा पाटन एकेडेमी अफ हेल्थ साइन्सेसमा अर्थोपेडिकतर्फ एमडीको अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ।
सानैदेखि दुःख र संघर्ष गरेर छोरालाई डाक्टर बनाएकी आमाले छोराको सफलताको खुसी मनाउन नपाउँदै यस्तो गम्भीर अवस्थामा पुग्नु परिवारका लागि अत्यन्त पीडादायी बनेको छ। आमाको उपचारका लागि थप आर्थिक सहयोग आवश्यक रहेकाले परिवारले सबैसँग सक्दो सहयोग गरिदिन आग्रह गरेको छ। हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ भने यस्तो सहयोगका लागि हामी पछाडि हट्नु हुँदैन। सहयोग तथा थप जानकारीका लागि प्रेम बोहरा र सुवास बोहरालाई सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























