सत्यराज सिंह बझाङ, प्रगतिशील युवा समाज र दलित सहयोग समाजको साझेदारी तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बझाङका दुई स्थानीय तहमा सञ्चालित विभिन्न विकास कार्यक्रमको वार्षिक समीक्षा तथा स्थलगत अवलोकन गरिएको छ । केदारस्युँ गाउँपालिकाको समन्वयमा सञ्चालित उक्त परियोजना अन्तर्गत गाउँपालिकाका केही र जयपृथ्वी नगरपालिकाका केही वडामा वर्षभरि भए–गरेका गतिविधि तथा तिनको प्रभावबारे समीक्षा गरिएको हो ।
समीक्षाका क्रममा शिक्षा, स्वास्थ्य तथा पोषण, बाल संरक्षण, जीविकोपार्जन एवम् भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा भएका प्रगतिको स्थलगत अध्ययन समेत गरिएको थियो । परियोजनामार्फत केदारस्युँ गाउँपालिकामा मात्रै करिब २ हजार ५ सय ’आरसी’ बालबालिका प्रत्यक्ष लाभान्वित भइरहेको कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा परियोजनाले बालबालिका तथा समुदायमा पारेको सकारात्मक प्रभाव, हासिल उपलब्धि, झेल्नुपरेका चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षबारे गहन छलफल भएको थियो । समीक्षा बैठकमा प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले समुदायको आवश्यकता र स्थानीय सरकारको प्राथमिकतालाई मध्यनजर गर्दै अघि बढेको बताए । उनले भने, ‘हामीले वर्षभरि सञ्चालित कार्यक्रमको उपलब्धि र प्रभावबारे समीक्षा गरेका छौँ । आगामी दिनमा स्थानीय तहसँगको समन्वयलाई अझ बलियो बनाउँदै कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने हाम्रो प्रयास रहनेछ ।‘ केदारस्युँ गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवंम वडा नं. २ का वडाअध्यक्ष शेरबहादुर विष्टको अध्यक्षतामा समीक्षा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यवाहक अध्यक्ष विष्टले गैरसरकारी संस्थाहरूले स्थानीय सरकारले पुर्याउन नसकेका सेवा र कामहरू गरेर दायित्व पूरा गर्न सहयोग पुर्याएको बताए । गैरसरकारी संस्थामार्फत हुने कामहरू गुणस्तरीय हुनुका साथै छिटोछरितो ढङ्गबाट सम्पादन हुने गरेको भन्दै उनले संस्थाको प्रशंसा समेत गरेका छन् । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रगतिशील युवा समाज, दलित सहयोग समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरूका साथै अन्य सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो । बैठकले आगामी दिनमा स्थानीय सरकार, साझेदार संस्था र समुदायबीचको सहकार्य र समन्वयलाई अझ मजबुत बनाउँदै बालबालिका तथा समग्र समुदायको हितमा केन्द्रित भई कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्
























