बझाङ — दलित सहयोग समाजको समान व्यवहार परियोजनाद्वारा गठित सुर्मा सरोवर महिला समूहको तेस्रो साधारण सभा सम्पन्न भएको छ। समूहले बुधबार आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको हो। सुर्मा सरोवर महिला समूहकी अध्यक्ष मीना देवी पातलीको अध्यक्षता तथा बुंगल नगर कार्यपालिका सदस्य काले कामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समूहको वार्षिक प्रगति, आर्थिक प्रतिवेदन तथा एक वर्षको अवधिमा समूहले गरेका विभिन्न गतिविधिका बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा बुंगल नगरपालिका–९ का वडा सदस्य जयबहादुर पातली, धौलपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक विष्ट र बुंगल एफएमका प्रबन्धक सुरेश धामी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साधारण सभाका अवसरमा समूहका उत्कृष्ट महिला सदस्य तथा समूहलाई सहयोग गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा समान व्यवहार परियोजनाका सामुदायिक सहजकर्ता अर्जुन पार्कीले सुर्मा सरोवर महिला समूह नगरपालिकाभित्र रहेका ३० वटा महिला समूहहरूमध्ये उत्कृष्ट समूहका रूपमा छनोट भई पुरस्कारसमेत प्राप्त गरेको जानकारी दिनुभयो। उहाँले समूहले समाज सुधार तथा महिलाको क्षमता विकासका क्षेत्रमा विभिन्न सकारात्मक काम गर्दै आएको बताउनुभयो। उहाँका अनुसार महिलाहरूलाई सक्षम, आत्मनिर्भर तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले परियोजनाले जोडी छलफल सञ्चालन गर्नुका साथै बाख्रा, भैंसी तथा टनेल वितरण गर्दै आएको छ।

वितरण गरिएका सामग्रीबाट भएको उपलब्धिको नियमित अनुगमन तथा निरीक्षणसमेत गरिँदै आएको उहाँले बताउनुभयो। यसैबीच, परियोजनाले एक वर्षअघि समूहका सदस्यहरू पुना देवी बोहरा, नर्मा बोहरा, रिमा धानुक, माना पातली र गीता बोहरालाई प्रतिव्यक्ति चार वटाका दरले बाख्रा वितरण गरेको थियो। संस्थाको नियमअनुसार एक वर्षपछि प्रत्येक सदस्यले एक–एक वटा बाख्रा संस्थालाई फिर्ता गर्नुपर्ने भएकाले फिर्ता भएका पाँच वटा बाख्रा समूहकी सदस्य मंगली बोहरालाई हस्तान्तरण गरिएको छ।

साधारण सभाले समूहका आगामी गतिविधि तथा महिला सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।























