११ कक्षा, १० शिक्षक : बुङ्गलको सिताराम माविमा शिक्षक अभाव कक्षा सञ्चालनमा सकस

Image

बझाङ – बुङ्गल नगरपालिका–१० मा रहेको सिताराम माध्यमिक विद्यालयमा शिक्षकको संख्या कम र कक्षा धेरै हुँदा नियमित पठनपाठन सञ्चालनमा समस्या भएको छ।

विद्यालयका प्रधानाध्यापक वीरबहादुर बोहराका अनुसार विद्यालय बुङ्गल नगरपालिकाको विकट तथा दुर्गम क्षेत्रमा रहेकाले शिक्षक दरबन्दी मिलानमा समेत समस्या देखिएको हो। विद्यार्थीको संख्या २ सय ८२ रहेको विद्यालयमा पर्याप्त शिक्षक नहुँदा कक्षा सञ्चालनमा कठिनाइ भएको उहाँले बताउनुभयो।

विद्यालयमा कक्षा १ देखि ५ सम्म ४ जना शिक्षक, कक्षा ६ देखि ८ सम्म २ जना तथा कक्षा ९ र १० मा संघीय अनुदानका ३ जना र नगर अनुदानका १ जना गरी जम्मा १० जना शिक्षक कार्यरत छन्। तर विद्यालयमा ११ वटा कक्षा सञ्चालन गर्नुपर्ने भएकाले शिक्षक अभाव देखिएको प्रधानाध्यापक बोहराले जानकारी दिनुभयो।

विद्यालयमा बालविकास कक्षा सञ्चालनमा समेत समस्या रहेको छ। त्यस्तै महिला मैत्री शौचालय, इन्टरनेट तथा विज्ञान प्रयोगशालाको अभाव रहेको विद्यालयले जनाएको छ। विद्यालयमा रहेका चारवटा भवनमध्ये तीनवटा जीर्ण अवस्थामा रहेको र खेलमैदानको समेत समस्या रहेको बताइएको छ।

निजी स्रोतबाट राखिएका शिक्षकको तलब व्यवस्थापन गर्नसमेत समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बोहराले रेडियो बुंगललाई जानकारी दिनुभयो।

यसैबीच, रेडियो बुंगलको स्थलगत रिपोर्टिङका क्रममा बुङ्गल नगरपालिका–१० नैनीकाँडामा रहेको शान्ति आधारभूत विद्यालयमा समेत शिक्षक अभावको समस्या देखिएको पाइएको छ।

विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत रहे पनि एक जना स्थायी/सरकारी शिक्षक, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी रहेको विद्यालयले जनाएको छ। हाल कक्षा १ देखि ३ सम्म मात्रै पठनपाठन सञ्चालन भइरहेको बताइएको छ।

सिताराम माध्यमिक विद्यालयबाट करिब एक घण्टाको दूरीमा रहेको शान्ति आधारभूत विद्यालयमा जम्मा चारवटा कोठा रहेका छन्। त्यसमध्ये तीनवटा कक्षा कोठा र एउटा कार्यालयका रूपमा प्रयोग हुँदै आएको छ। कक्षा कोठा साँघुरा भएकाले एउटा कोठामा करिब २० जना विद्यार्थी मात्रै अट्ने अवस्था रहेको विद्यालयको भनाइ छ।

बालकक्षा समेत सञ्चालनमा नरहेको हुँदा साना बालबालिकाको कक्षा व्यवस्थापनमा थप समस्या भइरहेको विद्यालयकी प्रधानाध्यापक लक्ष्मी धामीले बताए ।

त्यस्तै, बुङ्गल नगरपालिका–१० टुमेडामा रहेको दुर्गा आधारभूत विद्यालयमा पनि शिक्षक अभावकै समस्या रहेको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ। उक्त विद्यालयमा १ सय ९९ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ।

स्थानीय तहका दुर्गम तथा विकट क्षेत्रमा रहेका विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गए पनि सोहीअनुसार शिक्षक दरबन्दी तथा आवश्यक पूर्वाधार व्यवस्थापन हुन नसक्दा पठनपाठन प्रभावित हुने अवस्था देखिएको छ। सम्बन्धित निकायले विद्यालयको वास्तविक अवस्था अध्ययन गरी शिक्षक व्यवस्थापन, पूर्वाधार सुधार र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया जनाउनुहाेस्