बझाङ । बझाङमा राज्यको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी आफैँ सुरक्षित कार्यस्थलको अभावमा काम गर्न बाध्य छ । सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा प्रहरी संगठनका आफ्नै भवन नहुँदा अधिकांश प्रहरी कार्यालय भाडाका घर, तथा अन्य सरकारी कार्यालयमा सञ्चालन भइरहेका छन् । कतिपय प्रहरी चौकी त जीर्ण र कच्ची भवनमै बसेर प्रहरी नागरिकको सुरक्षामा खटिएका छन् । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका ३२ वडा प्रहरी कार्यालय मध्ये १९ ओटा वटा प्रहरी कार्यालय तथा अस्थायी प्रहरी पोष्ट अझै पनि जिर्ण र भाडामा घरमा बस्दै आएका छन् ।
इलाका प्रहरी कार्यालय दुर्गाथली, प्रहरी चौकी लासी, विमानस्थल सुरक्षा गार्ड,प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्ड,अस्थायी प्रहरी पोष्ट बागथला, अस्थायी प्रहरी पोष्ट केदारस्युँ गाउँपालिका झोता, अस्थायी प्रहरी पोष्ट बुङ्गल बिजगडा, अस्थायी प्रहरी पोष्ट बुङ्गल ११ पुतलिलेक, अस्थायी प्रहरी पोष्ट धमेना, अस्थायी प्रहरी पोष्ट पाटागाउँ,र प्रहरी बेश बिसौनाचौर लगायतका इकाइमध्ये अझ धेरैजसो कच्ची वा जीर्ण भवनमा जस्ताका टिनको छानामुनि सञ्चालन भइरहेका छन् ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, इलाका प्रहरी कार्यालय दुर्गाथली, लगाएतका थुप्रै प्रहरी कार्यालयहरु भाडाका घरमा सञ्चालन भइरहेका छन् भने केही गाउँपालिका, नगरपालिका, स्वास्थ्य चौकी, कारागार, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा विमानस्थलका भवनमा आश्रित छन् । जिल्लामा रहेका प्रहरी चौकीको भाडा तिर्नमा मात्रै बर्सेनी १६ लाख बढी खर्च हुने गरेको प्रहरी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार जिल्लाका धेरै प्रहरी इकाइ वर्षौंदेखि आफ्नै भवनविहीन छन् । नयाँ भवन निर्माणका लागि पटक–पटक सम्बन्धित निकायमा प्रस्ताव पठाइए पनि अपेक्षित बजेट विनियोजन हुन सकेको छैन । स्रोतका अनुसार सुरक्षा आवश्यकता भएका केही स्थानमा गृह मन्त्रालयको औपचारिक स्वीकृतिबिनै अस्थायी रूपमा प्रहरी परिचालन गर्नुपरेको अवस्था छ ।
तीमध्ये जयपृथ्वी नगरपालिकाको प्रवेद्धार तमैलमा चार जना प्रहरी अस्थायी रूपमा खटिएका छन् । स्रोतका अनुसार उहाँहरु जस्तापाताले छाएको अस्थायी जीर्ण टहरोमा बस्दै सेवा प्रवाह गरिरहेका छन् । स्थानीयका भनाइमा उक्त स्थान विगतमा शव राख्ने प्रयोजनका लागि प्रयोग हुने संरचना थियो । स्रोतका अनुसार भवन अभावको समस्या स्थानीय तहको नभई नीतिगत र बजेट व्यवस्थापन सँग जोडिएको विषय हो । आवश्यक पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा बारम्बार पहल गरिए पनि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा धेरै प्रहरी इकाइ अझै भाडा तथा जीर्ण भवनबाट सञ्चालन भइरहेका छन् ।
सुरक्षाकर्मीहरूका अनुसार वर्षायाममा जस्तापाताको छाना चुहिने, भवन चर्किने, साँघुरा कोठामा बस्नुपर्ने तथा कार्यालय कक्ष र ब्यारेकको अभावका कारण दैनिक कार्यसम्पादन प्रभावित हुने गरेको छ । अनुसन्धानका क्रममा सेवाग्राहीसँग गोप्य रूपमा बयान लिन तथा आवश्यक कागजी प्रक्रिया पूरा गर्नसमेत पर्याप्त स्थान नहुँदा कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ ।
जिल्लाका अधिकांश प्रहरी इकाइ दुर्गम ग्रामीण क्षेत्रमा रहेका कारण नयाँ भवन निर्माणका लागि आवश्यक बजेट, निर्माण सामग्री ढुवानी तथा भौगोलिक विकटता पनि चुनौतीका रूपमा रहेका छन् । त्यसैले वर्षौँदेखि अस्थायी तथा जीर्ण संरचनाबाटै प्रहरी सेवा सञ्चालन हुँदै आएको छ । सुरक्षा विज्ञहरूका अनुसार प्रहरीको मनोबल, सेवाप्रवाहको गुणस्तर तथा विपद्का बेला उद्धार र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षित र सुविधासम्पन्न कार्यालय भवन अपरिहार्य हुन्छ । तर बझाङका धेरै प्रहरी इकाइ अझै न्यूनतम पूर्वाधारबिनै सञ्चालन भइरहनु राज्यको सुरक्षा प्रणालीकै गम्भीर चुनौती बनेको छ ।
स्थानीयवासीहरू पनि शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीका लागि सुरक्षित कार्यस्थल र व्यवस्थित आवास निर्माण गर्नु राज्यको दायित्व भएको बताउँछन् । उहाँहरुका अनुसार प्रहरीलाई आवश्यक पूर्वाधार उपलब्ध गराउन सके नागरिकले पाउने सुरक्षा सेवा अझ प्रभावकारी, गुणस्तरीय र विश्वासिलो बन्नेछ ।






















