बझाङ , बझाङकाे जयपृथ्वी नगरपालिकामा विपद व्यवस्थापन न्युनिकरण अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित तीन चरणको विपद् व्यवस्थापन अनुशिक्षण तालिम सम्पन्न भएको हाे ।

सशस्त्र प्रहरी बलको प्राविधिक सहयोग तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज, प्रगतिशील युवा समाज र जयपृथ्वी नगरपालिकाको समन्वयमा सञ्चालित तालिममा पालिका, वडा तथा सामुदायिक विपद् व्यवस्थापन समिति, बाल क्लब, बाल सञ्जाल, किशोर–किशोरी तथा युवासहित ९० जनाको सहभागिता रहेको थियो।तालिममा पानीमा उद्धार, पहिरो तथा आगलागी नियन्त्रण, भूकम्प र अन्य दुर्घटनामा उद्धारका साथै विपद् व्यवस्थापनसम्बन्धी कानुनी तथा संरचनागत व्यवस्थाबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइएको थियो।

२०८३ साल साउन ५ गतेदेखि १० गतेसम्म सञ्चालन भएको तालिमको समापन जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीको अध्यक्षतामा भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहरा प्रमुख अतिथि तथा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायमा विपद् न्यूनीकरण तथा उद्धारका कार्यमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सहभागी तथा आयोजकहरूले समुदायस्तरमा विपद् व्यवस्थापनका लागि यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया जनाउनुहाेस्





















