बुङ्गल नगरपालिकाले ल्यायो ७८ करोड १७ लाख बजेट: शिक्षा, स्वास्थ्य, र पूर्वाधार प्राथमिकतामा

Image

बझाङ। बझाङको बुङ्गल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७८ करोड १७ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको  छ। बुधबार सम्पन्न १८ औँ नगरसभामा नगर उपप्रमुख धनबहादुर बोहराले राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेका हुन्।

नगरसभामा सभाध्यक्षसमेत रहेका नगरप्रमुख जयबहादुर धामीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताए । नगरपालिकाले विगतदेखि सञ्चालनमा रहेका अधिकांश कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ कार्यक्रमसमेत समावेश गरेको छ। नगरपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले युवायुवतीलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने नीति लिएको छ। त्यस्तै त्रिवेणी बाइसधार तीर्थस्थल, बड्डी ज्यावन, थानपाटन, धउलाढुङ्गा, पुरुमचुली–खोल्लेक बजेश्वरी तथा डोलारी क्षेत्रलगायतका पर्यटकीय तथा धार्मिक स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसारलाई निरन्तरता दिने जनाएको छ।

यस्तो छ आयको स्रोत

प्रस्तुत बजेट अनुसार नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १५ करोड ७६ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १३ करोड २८ लाख ६६ हजार रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ३९ लाख रुपैयाँ, विशेष अनुदानबाट ८० लाख रुपैयाँ तथा सशर्त अनुदानबाट ३५ करोड १२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ४८ लाख २० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ५४ लाख ६५ हजार रुपैयाँ, समपूरक अनुदान ८९ लाख १७ हजार रुपैयाँ, विशेष अनुदान ५१ लाख रुपैयाँ तथा सशर्त अनुदान ५७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले आन्तरिक आम्दानीबाट १ करोड ६० लाख रुपैयाँ र हाइड्रोपावर रोयल्टीबाट १ करोड ८ लाख ७९ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

शिक्षा र स्वास्थ्यमा विशेष जोड

शिक्षा क्षेत्रको सुधार तथा गुणस्तरीय शिक्षाका लागि शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा २ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ। उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सहयोग पु¥याउन बीबीएस छात्रवृत्तिका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ। स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न २ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। नगरपालिकाले १५ शय्याको अस्पताल सञ्चालनलाई निरन्तरता दिने, विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा आयुर्वेद शाखा सञ्चालन तथा व्यवस्थापनका लागि ५ लाख रुपैयाँ व्यवस्था गरेको छ। कृषिलाई बुङ्गलको आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित कृषि तथा सहकारी क्षेत्रमा १० लाख रुपैयाँ र पशुपालन विकासतर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि संकलन केन्द्र स्थापना गर्न थप १६ लाख रुपैयाँ छुट्याइएको छ।

रोजगार प्रवद्र्धन तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। महिला सशक्तीकरण, लैङ्गिक समानता, बाल संरक्षण तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ।

डिजिटल सेवा र सुशासनमा जोड

नगरपालिकाले १४ वटा माध्यमिक विद्यालय, पाँच स्वास्थ्य संस्था, ११ वडा कार्यालय तथा आयुर्वेद कार्यालयमा ई–हाजिरी प्रणाली जडान गर्ने योजना अघि सारेको छ। साथै ड्रोन क्यामेरा खरिद तथा डिजिटल नागरिक वडापत्र स्थापना गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ । योजनाको कार्यान्वयनलाई थप व्यवस्थित र पारदर्शी बनाउन सफ्टवेयर खरिद तथा मध्यकालीन खर्च संरचना निर्माणका लागि ८ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार र दण्डको नीति लागू गरिने नगरपालिकाले जनाएको छ।

पूर्वाधार र विपद् व्यवस्थापनलाई प्राथमिकता

नगरभित्र निर्माणाधीन तथा निर्माण सम्पन्न सडकको स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउने नीति नगरपालिकाले लिएको छ। वडास्तरीय विकास तथा पूँजीगत खर्चका लागि ६ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नगर तथा वडा तहको विपद् व्यवस्थापन कोषका लागि ८० लाख रुपैयाँ छुट्याइएको छ। विभिन्न आयोजनाको समपूरक तथा लागत साझेदारीका लागि २ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

जनप्रतिनिधि योजना र अन्य कार्यक्रम

नगर प्रमुख योजनाका लागि ८० लाख रुपैयाँ, नगर उपप्रमुख योजनाका लागि ६० लाख रुपैयाँ तथा कार्यपालिका सदस्य योजनाका लागि ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यस्तै न्यायिक समिति सञ्चालनका लागि ५ लाख रुपैयाँ, दलित हकअधिकार समितिका कार्यक्रमका लागि १० लाख रुपैयाँ, कर्मचारी कल्याणकारी कोषका लागि ५ लाख रुपैयाँ तथा आँखा शिविर सञ्चालनका लागि २ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने, इन्टरनेट सेवाको पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्ने तथा आर्थिक विकास, सामाजिक रूपान्तरण, सांस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा केन्द्रित कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन