बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बझाङका नेता तथा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार शैलेस सिंह र स्थानीय कार्यकर्ताबीच एक क्याफे (भट्टी) मा कुटपिट तथा झगडा भएको घटना सार्वजनिक भएको छ । घटनापछि नेता सिंहले आफ्नो राजनीतिक पहुँच र शक्तिको दुरुपयोग गरी निर्दोष व्यक्तिलाई प्रहरी हिरासतमा राख्न लगाएको आरोप पीडित पक्षले लगाएका छन् ।
स्थानीय स्रोतका अनुसार, नेता सिंह अत्याधिक मादक पदार्थ सेवन (मापसे) प्रेमी रहेको र मापसे गरेपछि जथाभाबी रूपमा गति छाड्ने (उच्छृङ्खल व्यवहार देखाउने) गरेको गुनासो स्वयं रास्वपाकै कार्यकर्ताहरूले गर्न थालेका छन् । नेता सिंहको यस्तो गैरजिम्मेवार व्यवहारका कारण पार्टीका स्थानीय कार्यकर्ताहरू समेत उनीसँग निकै दिक्क भइसकेका छन् ।
कुटपिट र शक्तिको चरम दुरुपयोग
घटनाको दिन नेता सिंहले आफैँ भरत बोहरालाई एउटा क्याफेमा बसिरहेको अवस्थामा भेटघाटका लागि भनी एकान्तमा बोलाएका थिए । तर, मापसेको तालमा रहेका सिंह आफैँले सुरुमा बोहरामाथि हात हालेर कुटपिट सुरु गरे । भरत बोहरामाथि कुटपिट हुन थालेपछि त्यहाँ उपस्थित २/३ जना व्यक्तिहरू प्रतिरक्षाका लागि अघि सरेका थिए । झगडा र कुटपिटको वास्तविक कारण बुझ्न घटनास्थल पुगेका स्थानीय गोविन्द धामी माथि उल्टै नेता सिंहले आफ्ना ४०-५० जना भाडाका गुन्डाहरू परिचालन गरी मरणासन्न हुने गरी कुटपिट गराएको पीडित पक्षको दाबी छ । घटनामा गम्भीर घाइते भएका धामीलाई न्याय दिनुको सट्टा राजनीतिक दबाबकै भरमा नियम र कानुन विपरीत २४ घण्टाभन्दा बढी समयदेखि प्रहरी हिरासतमा राखिएको भन्दै स्थानीय प्रशासनको समेत चर्को आलोचना भइरहेको छ ।

कुनै आधिकारिक मुद्दा वा निवेदन बिना नै ठाडो निर्देशनका भरमा निर्दोष व्यक्तिलाई थुनेर प्रशासन मूकदर्शक बनेको भन्दै स्थानीय र कार्यकर्ताहरू आक्रोशित बनेका छन् । यस घटनालाई लेकर सामाजिक सञ्जाल फेसबुकमा मार्फत स्थानीय बासिन्दा तथा कार्यकर्ताहरूले कडा आपत्ति जनाएका छन् । मनोज भट्ट नामका प्रयोगकर्ताले फेसबुकमा लेखेका छन्, “शैलेश सिंह दाई एकचोटी यो स्टाटस हेर्नुहोस् । तपाईं बझाङ जिल्लाको राजनीति पछि पनि गर्ने विचार होला, हिजो मात्र होइन आज मात्र होइन भोलि पनि सोचौँ । निर्दोष गोविन्दलाई तुरुन्त रिहा गरी यो समस्याको उचित समाधान गरियोस् ।”

त्यसैगरी अन्य स्थानीयहरूले पनि राजनीतिक प्रतिशोध नलिन, शक्तिको आडमा साम्राज्य चलाउने चेष्टा नगर्न र घटनाको निष्पक्ष सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । पीडित पक्षले तत्काल गोविन्द धामीलाई रिहा नगरे आगामी दिनमा नेता सिंहको राजनीतिक भविष्य अन्धकार हुने र परिस्थिति थप जटिल बन्ने चेतावनी समेत दिएका छन्
























