सुदूरपश्चिम सीएसओ युवा फोरम गठन, सदस्य सचिवमा बझाङका कपिल बिष्ट चयन

Image

सुदूरपश्चिम प्रदेशका युवाहरूको साझा आवाज, अधिकार र सरोकारलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश स्तरीय सीएसओ (नागरिक समाज संस्था) युवा फोरम गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६ को अवसरमा जेठ ९ र १० गते धनगढीमा आयोजित दुई दिने सम्मेलनबाट उक्त फोरम सर्वसम्मत रूपमा गठन गरिएको हो। नवगठित सुदूरपश्चिम प्रदेश सीएसओ (नागरिक समाज संस्था) युवा फोरमको संयोजक (अध्यक्ष) मा बाजुराका युवा टेक साउद चयन हुनुभएको छ भने सह–संयोजकमा कञ्चनपुरकी दुर्गा बढुवाल चयन हुनुभएको छ। त्यसैगरी सदस्य सचिवमा बझाङका कपिल बिष्ट सर्वसम्मत रूपमा चयन हुनुभएको हो।

साथै प्रदेशका नौवटै जिल्लाबाट एक–एक जना युवालाई सदस्यको रूपमा समेटिएको आयोजकले जनाएको छ। सम्मेलन गैरसरकारी संस्था महासंघ नेपाल, युवा अभियान तथा विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न भएको थियो। समापन सत्र सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभाध्यक्षता गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी प्रसाद खनालले गर्नुभएको थियो। सम्मेलनबाट सुदूरपश्चिमका युवाहरूका साझा सवाल समेट्दै ६ बुँदे घोषणापत्र जारी गरिएको छ। घोषणापत्रमा डिजिटल सुरक्षा तथा जिम्मेवार प्रविधि प्रयोग, शिक्षा तथा समावेशी पहुँच, स्वास्थ्य तथा मानसिक स्वास्थ्य, रोजगारी तथा आर्थिक अवसर, जलवायु न्याय तथा वातावरण संरक्षण र सहभागिता तथा सुशासनका विषयलाई प्राथमिकतामा राखिएको छ। नवगठित सीएसओ युवा फोरमले प्रदेशभरका युवाहरूको आवाजलाई नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्य लिएको छ। सदस्य सचिवमा चयन भएका कपिल बिष्ट लामो समयदेखि युवा क्लब, विभिन्न सामाजिक संस्था तथा अभियानसँग आबद्ध रहँदै युवा, बालबालिका, नागरिक सहभागिता, जलवायु परिवर्तन तथा समुदाय विकासका क्षेत्रमा सक्रिय रूपमा कार्य गर्दै आउनुभएको छ। उहाँले युवा सशक्तिकरण, वातावरण संरक्षण, प्लास्टिक प्रदूषण न्यूनीकरण तथा जलवायु न्याय सम्बन्धी विभिन्न अभियान तथा कार्यक्रमहरूमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।उहाँको नेतृत्व, अनुभव र निरन्तर सक्रियताले फोरमलाई अझ प्रभावकारी बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्