प्रथम घण्टी कप भलिबलको उपाधि शाहिल मेमोरियल बित्थडचिरलाई 

Image

बझाङको बुङ्गल नगरपालिका–६ झापामा आयोजित प्रथम घण्टी कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि शाहिल मेमोरियल, बित्थडचिर गाउँपालिकाले जितेको छ। आज सम्पन्न फाइनल खेलमा शाहिल मेमोरियलले छविसपाथिभेरा गाउँपालिका–१ लाई सोझो सेटमा ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो। बुङ्गल भलिबल समाजद्वारा वैशाख २२ गतेदेखि सञ्चालन गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाका १२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा छविसपाथिभेरा गाउँपालिका उपविजेता बनेको छ भने खप्तड भलिबल क्लब, केदारस्युँ गाउँपालिका तृतीय स्थान हासिल गर्न सफल भएको छ। जयपृथ्वी नगरपालिका सान्त्वना स्थानमा सीमित भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने शाहिल मेमोरियलले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय हुने टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय हुने टोलीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई नगद पाँच हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट स्पाइकर छविसपाथिभेराका अशोक राना घोषित हुँदै नगद तीन हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। उत्कृष्ट सेटर बलु विश्वकर्मा तथा उत्कृष्ट लिब्रो नवीन भारतीलाई जनही दुई हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रम वडा नं. ६ का वडाध्यक्ष राम देवारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष लोकेन्द्रबहादुर जाग्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया जनाउनुहाेस्