बुङलमा मेयर कप U-19 क्रिकेट छनौट: एकै दिन ४ खेल सम्पन्न

Image

कर्ण धामी बझाङ – बुङलमा जारी मेयर कप बझाङ जिल्ला स्तरीय U-19 पुरुष क्रिकेट छनौट प्रतियोगितामा आज चार खेल सम्पन्न भएका छन्। आगामी U-19 पुरुष क्रिकेट प्रतियोगिताका लागि बझाङ जिल्लाको टिम छनोट गर्ने उद्देश्यले खेलहरू सञ्चालन भइरहेका हुन्। पहिलो खेलमा जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो। टस जितेर ब्याटिङ रोजेको जयपृथ्वी नगरपालिकाले २१६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मष्टा गाउँपालिका १३५ रनमै अलआउट भएपछि जयपृथ्वी नगरपालिका विजयी भयो। दोस्रो खेल तलकोट गाउँपालिका र खप्तडछान्ना गाउँपालिका बीच भएको थियो। टस जितेर ब्याटिङ गरेको खप्तडछान्नाले १२३ रन बनाएको थियो। उक्त लक्ष्य पछ्याएको तलकोटले १८.४ ओभरमा लक्ष्य पूरा गर्दै जित हात पार्यो। तेस्रो खेल केदारस्युँ गाउँपालिका र बुङल नगरपालिका बीच भएको थियो। केदारस्युँले ७३ रनको लक्ष्य दिएको थियो। जवाफमा बुङल नगरपालिकाले १४.४ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित निकाल्यो। आजको अन्तिम खेल मष्टा गाउँपालिका र थलारा गाउँपालिका बीच भएको थियो। टस जितेर फिल्डिङ रोजेको थलाराविरुद्ध मष्टाले १७५ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा थलारा गाउँपालिका ५.५ ओभरमै १५ रनमा समेटिँदा मष्टाले फराकिलो जित हात पार्यो। प्रतियोगिताअन्तर्गत भोलि बिहान ७ बजे जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिका बीच खेल हुने तालिका रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्