बझाङ, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको सदरमुकाम चैनपुर स्थित जिल्ला अदालत परिसरमा शुक्रबार कार्यालय स्थापना गरिएको हो । बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालय उद्धाटन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिनुभयो ।
उद्धाटन कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बनेपालीले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार सञ्चालन गरिने उल्लेख गर्नुभयो । कार्यालय स्थापनासँगै निर्वाचनसम्बन्धी उजुरी, व्यवस्थापन, समन्वय तथा अन्य प्रशासनिक कार्य सहज हुने विश्वास लिइएको छ।
























