बझाङमा तीन दशकपछि न्यून गुणस्तरको रक्सी बिक्री बितरणमा पूर्ण रोक

Image

बझाङ । बझाङमा गुणस्तरहीन र अवैध घरेलु मदिरा नियन्त्रणका लागि सुरु भएको झन्डै तीन दशक लामो संघर्ष अहिले स्थानीय सरकारको कानुनमार्फत सार्थक बन्दै गएको छ । गत वैशाखमा बसेको सर्वपक्षीय बैठकले जेठ १० गतेदेखि अवैध घरेलु मदिरा र न्यून गुणस्तरका रक्सीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । तर, कार्यान्वयन सुरु भएको एक महिनाभित्रै उच्च अदालत दिपायलले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि प्रतिबन्धको प्रयास रोकिएको थियो ।
त्यसपछि पनि जिल्लामा न्यून गुणस्तरका रक्सी खुलेआम बिक्री हुन थालेका थिए । यस्ता मदिराका कारण स्वास्थ्यमा हानी, घरेलु हिंसा, बलात्कार, र हत्या जस्ता जघन्य अपराध बढ्दै गएका थिए । यही अवस्थाले जिल्लाका पालिकालाई कानुन बनाउने दिशामा अघि बढ्न प्रेरित गरेको हो । हाल वित्थडचिर, थलारा, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले आफ्नै कानुन बनाएर गुणस्तरहीन रक्सी बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएका छन् ।
प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीका अनुसार पालिकाले कानुन बनाएर कार्यान्वयन थालेपछि प्लास्टिक प्याकमा पाइने सस्तो रक्सी पूर्ण रूपमा बन्द भएको छ । ‘यी मदिरा नै हिंसा, अपराध र सामाजिक विकृतिको जड भएको र ‘अहिले कानुन बनेपछि सकारात्मक परिवर्तन देखिन थालेको प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले बताउनुभयो।
वित्थडचिर गाउँपालिकाका वडा नं ६ का वडाध्यक्ष हरिश खड्काका अनुसार मदिरा बिक्री वितरण तथा नियमन निर्देशिका लागू गरेपछि गाउँमा झगडा र हिंसाका घटना उल्लेख्य रूपमा घटेका छन् । प्रहरी तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा बझाङमा ३९ वटा बलात्कार, ४३ वटा महिला आत्महत्या, र ४ सय ५० भन्दा बढी घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । जसका अधिकांश घटनाका पछाडि रक्सीजन्य असर रहेको प्रहरी प्रमुख डीएसपी खगेन्द्र धमलाको भनाइ छ । सामाजिक सुधारक र महिला समूहका अनुसार यो कदमले जिल्लामा घरेलु हिंसा, अपराध र सामाजिक विकृति नियन्त्रणमा ठूलो सहयोग पुगेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन