समीर कठायत- बझाङको बित्थडचिर गाउँपालिका–९, महादेवचुला डाँडामा रहेको नेपाल टेलिकमको टावर विगत केही दिनदेखि समस्या देखापरेपछि स्थानीय बासिन्दा संचार सेवाबाट वञ्चित भएका छन्।
स्थानीयका अनुसार घाम लागेका दिन बिहान करिब १० बजेदेखि मात्र नेटवर्क आउने र बेलुकी ४ बज्नासाथ बन्द हुने गरेको छ। त्यस्तै, वर्षा हुने दिनमा भने दिनभरि नै नेटवर्क नआउने गरेकाे बताइन्छ।
टावरमा बारम्बार समस्या आउँदा विद्यार्थी, व्यापारी, व्यवसायी तथा विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई ठूलो असुविधा भइरहेको स्थानिय नरेश बिष्टले बताउनुभयो। उहाँका अनुसार आफ्ना आफन्तलाई फोन गर्न पनि घाम कुर्नु पर्ने, घाम लागेपछि पनि नेटवर्क स्थिर नहुने, फोन उठाउन नपाउँदै काटिने जस्ता समस्या भइरहेका छन्।
महादेवचुला डाँडामा रहेको सो टावरले देउरा बजार, बित्थडचिर गाउँपालिकाका अधिकांश बस्तीका साथै बैतडी र डोटी जिल्लाको छपाली क्षेत्रसम्म सेवा पुर्याउँदै आएको थियो। तर हाल टावरको सोलार प्रणालीमा खिया लागेर ब्याट्री चार्ज नहुने समस्या देखिएपछि स्थानीयलाई संचार सेवामा समस्या भएको हो।
व्यवसायीहरूका अनुसार, नेटवर्क अवरुद्ध हुँदा मोबाइल कारोबार, डिजिटल भुक्तानी र बैंकिङ सेवा समेत प्रभावित भएका छन्। विद्यार्थीहरूले पनि अनलाइन कक्षा तथा अध्ययन सामग्री खोज्न कठिनाइ भोगिरहेका छन्।
यसैबीच, देउराका व्यवसायी कलक बिष्टले नेपाल टेलिकमको प्राविधिक टोली अहिलेसम्म टावरमा नपुगेको गुनासो गर्दै गाउँपालिका र नेपाल टेलिकम बझाङलाई चाँडो मर्मत कार्य गर्न माग गर्नुभयो।
























