सुनकुडा क्याम्पसमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

Image

स्वतन्त्र विद्यार्थी युनियन सुनकुडा क्याम्पस बझाङको आयोजनामा र सुनकुडा क्याम्पसको सहकार्यमा आयोजित “उद्घोषण तथा नेतृत्व र क्षमता विकास तालिम” आजदेखि सुनकुडा क्याम्पसमा सुरु भएको छ। साउन २२ गतेबाट सुरु भएको तीन दिने तालिम साउन २४ गतेसम्म सञ्चालन हुने छ।

कार्यक्रमको अध्यक्षता स्ववियु अध्यक्ष कपिल बिष्टले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्ल सहभागी हुनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुनकुडा क्याम्पस सञ्चालक समिति अध्यक्ष रमेश बहादुर अधिकारीको उपस्थिति थियो भने प्रशिक्षक तथा बास नेपालका केन्द्रीय सचिव पाण्डव पुजारा पनि सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा स्वागत मन्तव्य स्ववियु सदस्य प्रमिला बोहराले प्रस्तुत गर्दै सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई तालिमको सफलताको शुभकामना दिनुभयो। उहाँले यो तालिम विद्यार्थीहरूको नेतृत्व क्षमता र अभिव्यक्ति शैली विकास गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।

प्रमुख अतिथि धनलक्ष्मी मल्लले उद्घाटन मन्तव्यमा युवाहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक भएको उल्लेख गर्नुभयो। उहाँले यस्तो अभ्यासमुखी तालिमहरूले विद्यार्थीहरूलाई आत्मविश्वासी बनाउने, समाजप्रति उत्तरदायी बनाउने र नेतृत्व गर्न प्रेरित गर्ने बताउनुभयो।

विशिष्ट अतिथि रमेश बहादुर अधिकारीले क्याम्पस सधैं यस्ता सकारात्मक र सिर्जनात्मक गतिविधिहरूको साथमा रहेको र अझ प्रभावकारी कार्यक्रमहरूको निरन्तरतामा प्रतिबद्ध रहेको बताउनुभयो।

प्रशिक्षक पाण्डव पुजाराले उद्घोषण केवल बोलीकै कुरा नभई आत्मविश्वास, प्रस्तुतीकरण, नेतृत्व र प्रभावकारी सञ्चारको संयोजन भएको स्पष्ट पार्नुभयो। तालिममा व्यावहारिक अभ्यास, टोलीगत कार्य, आत्म–अवलोकन, नेतृत्व विकास लगायतका सत्रहरू समावेश गरिने जानकारी दिनुभयो।

३५ भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको यस तालिमबाट सहभागीहरूले उद्घोषण कला, सञ्चार शैली, आत्मविश्वास अभिवृद्धि र नेतृत्व सीपहरूमा व्यवहारिक ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका सभाध्यक्ष तथा स्वतन्त्र विद्यार्थी युनियन सुनकुडा क्याम्पसका अध्यक्ष कपिल बिष्टले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास मात्र होइन, सामाजिक उत्तरदायित्व बोध गराउने पनि बताउनुभयो। उहाँले भविष्यमा अझ धेरै यस्ता प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन