बझाङ – बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने अत्यन्तै रमणीय तथा धार्मिक महत्व बोकेको पुर्मचुली धार्मिक स्थल प्रचार–प्रसारको अभावले ओझेलमा परेको छ।
समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाइमा अवस्थित यो धार्मिक स्थल, बझाङको बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको मार्मा गाउँपालिकाको सङ्गम बिन्दुमा पर्दछ। उच्च स्थानमा रहेको यो स्थानबाट सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका साथै नेपालका धेरै भागहरु तथा छिमेकी राष्ट्र भारतका थुप्रै भूभाग सहजै अवलोकन गर्न सकिन्छ। पुर्मचुली धार्मिक वनका अध्यक्ष विष्णु भक्त जोशीका अनुसार, यहाँबाट देखिने प्राकृतिक दृश्यहरु निकै नै मोहक छन्।

पुर्मचुलीको जैविक विविधता पनि आकर्षणको अर्को पक्ष हो। यहाँ पाँच प्रकारका लालिगुराँस, निगालो, हत्ता जडी र विविध किसिमका औषधीय जडीबुटी पाइन्छन्। साथै, डाँफे, मुनालजस्ता सुन्दर चराहरु तथा घोरल, कस्तुरी, थार, पाठेबाघ लगायतका वन्यजन्तुहरु पनि नजिकबाट अवलोकन गर्न सकिन्छ।
धार्मिक दृष्टिकोणले समेत पुर्मचुली विशेष स्थानमा पर्दछ। लामो समयसम्म सन्तान नपाएकाहरूले यहाँ आएर जागराम बसेर पूजा–अर्चना गर्दा सन्तान प्राप्त भएको विश्वास गरिएको छ। धार्मिक वनका सचिव विरबहादुर ठगुन्नाका अनुसार, यस्ता उदाहरणहरू धेरै छन्। यसै सन्दर्भमा बुंगल ७ डाँडागाउँकी परुली देवी बोहराको उदाहरण उल्लेखनीय छ। लामो समयसम्म सन्तान नपाएकी परुली देवीले पुर्मचुलीमा पूजा–अर्चना गरेपछि एक छोराको जन्म भएको बताएकी छन्। स्थानीय जस्वीर बोहराका अनुसार, यहाँ गएर श्रद्धापूर्वक पूजा गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ।

स्थलको धार्मिक महत्वलाई मध्यनजर गर्दै यहाँ पाँच सय भक्तजन अट्ने धर्मशाला, पाँच सय लिटर क्षमताको पानीको व्यवस्था र एक ठूलो मन्दिर समेत निर्माण गरिएको छ। भक्तजनको सुविधाका लागि करिब २५० वटा घोडेटो बाटाहरूमा स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा सिँढी तथा भौतिक पूर्वाधारको विकास गरिएको भए पनि, यथोचित प्रचारप्रसार नहुँदा यो स्थल ओझेलमा परेको गुनासो पुर्मचुली धार्मिक वनका कोषाध्यक्ष दलबहादुर धामीले गर्नुभयो।
स्थानीय सरकार र प्रदेश सरकारको पहलमा पूर्वाधार विकास त भएको छ, तर अझै प्रभावकारी प्रचार प्रसार, नियमित धार्मिक मेला, पर्यटन योजना र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थानको प्रवर्द्धन गर्न सकेमा पुर्मचुली धार्मिक स्थल अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा उभिन सक्ने सम्भावना स्थानीयहरू व्यक्त गर्छन्।
बझाङको धार्मिक, पर्यटकीय र प्राकृतिक धरोहरका रुपमा पुर्मचुली अझै लुकेको खजाना जस्तै रहेको छ। आवश्यक योजना, लगानी र प्रचारप्रसारको माध्यमबाट यो स्थलले सुदूरपश्चिमको पर्यटकीय पहिचान विस्तार गर्न सक्ने देखिन्छ।

























