बझाङ : अपांगता भएका व्यक्तिहरू र तिनीहरूको परिवारका लागि लक्षित गरी चार दिने तरकारी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ ।
साउन २ गतेदेखि ५ गतेसम्म सदरमुकाम चैनपुरमा आयोजित तालिममा नगर भित्रका १० जना सहभागी भएका थिए ।
प्रगतिशील युवा समाजको आर्थिक सहयोग तथा दलित सहयोग समाज जयपृथ्वी नगरपालिका र कृषि ज्ञान केन्द्र बझाङको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको हो ।
तालिमपछी सहभागीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रति व्यक्ति झण्डै ४० हजार रुपैयाँ बराबरको सामग्री समेत सहयोग गरिने भएको छ ।
सामग्रीमा प्लास्टिक टनेल, ड्रम, थोपा सिँचाइ उपकरण, विविध तरकारी बीउबिजन र कृषि उपकरणहरू समावेश छन् । प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले यो कार्यक्रम अपांगता भएका परिवारहरूको पोषण, खाद्य सुरक्षा र आर्थिक सुधारमा टेवा पुग्ने विश्वासका साथ सुरु गरिएको बताए ।
तालिमको सहजीकरण कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेमराज पनेरू र जयपृथ्वी नगरपालिका कृषि शाखाका अधिकृत मनराज जोशीले गर्नुभएको थियो ।
सहजीकरणकर्ताहरूले सहभागीहरूलाई व्यावसायिक तरकारी खेतीका सीप, रोग तथा किराहरूको व्यवस्थापन, माटोको संरक्षण, सिँचाइ प्रविधि लगायतका विषयमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरेका थिए ।
तालिममा सहभागी रामचन्द्र रतालाले भने, ‘कृषिमा केही गर्ने जोश थपिएको छ । यति सहयोग पाएपछि अब व्यावसायिक रूपमा तरकारी खेती गर्दै जाने छु ।’
तालिम र सामग्री सहयोग कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको पोषण, खाद्य सुरक्षासँगै आर्थिक स्वावलम्बनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
























