सत्यराज सिंह, बझाङ। बझाङका चार स्थानीय तहमा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत साझेदार संस्थाहरूको प्रगति समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रम जेठ १ र २ गते बझाङमा सम्पन्न भएको हो ।
कार्यक्रममा जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा, मष्टा र खप्तडछन्ना गाउँपालिका लगाएत चार स्थानियतहका प्रमुख, उपप्रमुख, कृर्षी र पशुशाखा प्रमुखहरु, चार वटा स्थानियतहमा परियोजना कार्यान्वयन गरिरहेका साझेदार संस्थाहरू प्रगतिशील युवा समाज, दलित सहयोग समाज लगायत संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा साझेदार संस्थाहरूले आ–आफ्नो कार्यक्षेत्रमा परियोजनाले पु¥याएको सामाजिक तथा आर्थिक प्रभावबारे प्रस्तुति दिएका थिए । कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौती, सिकाइ र आगामी सुधारका क्षेत्रबारे विस्तृत छलफल भएको छ ।
प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले युवालाई उद्यमशीलताको मूलधारमा ल्याउन गरिएको प्रयासको चर्चा गर्दै गाउँमै रोजगारी सिर्जना हुनु परियोजनाको प्रत्यक्ष उपलब्धि भएको र कार्यक्रमले महिला, युवा स्वरोजगारमा उन्मुख हुँदै गएको बताए । उनले भने,‘गाउँमै रोजगारी सिर्जना हुनु र युवाहरूको उद्यममा आकर्षण बढ्नु परियोजनाको प्रत्यक्ष उपलब्धि हो ।’
दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीले परियोजनाको समावेशीता र समान अवसरको अभ्यासलाई मूल्यांकन गर्दै समुदायका किसानहरू व्यवसायिक कृषिमा सहभागी हुँदै आर्थिक सशक्तिकरणको यात्रामा अगाडि बढिरहेको बताए । समिक्षामा कार्यक्रमको प्रभावकारिता थप बढाउने उद्देश्यका साथ समुदायको स्वामित्व, स्थानीय स्रोत परिचालन, संस्थागत समन्वय र परिणाममुखी रणनीतिमा जोड दिइएको जनाएको छ
हेफर प्रोजेक्टका कार्यक्रम प्रवन्धक प्रकाश कुमार केसीले साझेदार संस्थाहरूको भूमिकालाई महत्वपूर्ण भएको भन्दै साझेदार संस्थाहरू परियोजनाको मेरुदण्ड रहेको बताए । तिनको दक्षता, पारदर्शिता र प्रतिबद्धता मार्फत् परियोजनाले समुदायमा दिगो परिवर्तन ल्याउनेमा आफु विश्वस्त रहेको समेत केसीको भनाई छ । हेफर प्रोजेक्टका निर्देशक ईश्वर काफ्लेले समुदायमा आधारित दीर्घकालीन परिवर्तन ल्याउने लक्ष्यका साथ परियोजना अघि बढिरहेको बताए ।
कार्यक्रमले साँझेदार संस्थाहरूको अनुभव आदानप्रदान, अन्तरक्रिया र सहकार्य विस्तारको अवसरसमेत प्रदान गरेको सहभागीहरुको भनाई छ । कार्यक्रममा साझेदारीको भावनालाई सुदृढ गर्दै बझाङमा स्वावलम्बन, उद्यमशीलता र सामाजिक समावेशीताको अभ्यासलाई थप व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा परियोजनाले कृषक र युवाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको र स्थानीय सरकार पूर्णरूपमा साथ दिन तयार रहेको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए । कार्यक्रममा परियोजनाको हालसम्मको प्रगति, हासिल उपलब्धि, चुनौती र आगामी कार्ययोजनाको विषयमा गहन छलफल गरिएको छ ।
छरिएर रहेका किसानहरूलाई समूह मार्फत उधमशिलतामा जाेड्दै गरिबी निवारण, आत्म निर्भर बनाउने उदेश्यका साथ परियाेजनाले काम गरिरहेकाे र समुदायमा रहेका महिलाहरूकाे आधारशिला तालिमले समेत उहाँकाे क्षमता अभिवृद्धि भइ नेतृत्वकाे विकास समेत हुने अपेक्षा गरिएकाे हेफर प्राेजेक्ट बझाङका प्रमुख नरेस सिंह धामीले बताए ।

























