बझाङः बझाङको बुङ्गल नगरपालिका–२ स्थित डोलारी मन्दिरमा रहेको नेपाल टेलिकमको टावर नियमित रूपमा सञ्चालनमा नआएपछि स्थानीयवासी सञ्चारविहीन बन्न पुगेका छन्। विशेषतः रातिको समयमा टावर पूरै बन्द हुने गरेको र घाम नलागेका दिनमा त सेवा नै नआउने स्थानीयको गुनासो छ।
स्थानीय देव धामीले भन्नुभयो,“घाम उदाउदा, टावर आउँछ। घाम अस्ताउँछ, टावर पनि काम गर्न छाड्छ। बादल लागेको दिन त टावर नै आउँदैन।” उहाँका अनुसार टेलिकमको सेवा नहुँदा न त फोन गर्न मिल्छ, न त इन्टरनेट, न त आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिन्छ। सञ्चार सेवा अवरुद्ध हुँदा विद्यालयमा अध्ययनरत विद्यार्थी, सरकारी कार्यालय, बैंकिङ सेवा र इन्टरनेटमा आधारित दैनिक कार्यमा ठूलो समस्या आइरहेको छ। आकस्मिक अवस्थामा सन्देश आदानप्रदान गर्न नसकिने अवस्था सिर्जना भएको छ।
टावर बन्द हुनुको कारण प्राविधिक नभई ऊर्जा अभाव भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले बताउनुभयो,। “हामीले तीन महिनाअघि टावरमा सौर्य उर्जा प्रणाली (सोलार) जडान गरेका थियौं। तर त्यसले पर्याप्त पावर दिन सक्दैन, जसका कारण घाम लाग्दा मात्र टावर चल्छ,”उहाँले भन्नुभयो। स्थानीयबासीले यथाशीघ्र स्थायी समाधानको माग गरेका छन्। उहाँहरूको भनाइमा, सूदूर ग्रामीण क्षेत्रमा सञ्चार सेवा अझ भरपर्दो र स्थिर हुन जरुरी छ, नत्र आवश्यक समयमा सम्पर्क विहीनताको पीडा झेल्नुपर्ने बाध्यता रहन्छ।

























