बझाङः बुंगल नगरपालिका वडा नं. १ ले ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । महिलाहरूको हक, अधिकार र सशक्तीकरणलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। वडा कार्यालयको आयोजनामा भएको कार्यक्रम कार्यपालिका सदस्य निर्मला जोशीको अध्यक्षतामा सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ की दलित महिला सदस्य निरा कामी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा कोपिला विक उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा स्वागत मन्तव्य शिव आधारभूत विद्यालयकी प्रधानाध्यापक गौमा कुमारी बोहराले दिनुभएको थियो। कार्यक्रमको सञ्चालन रेडियो बुंगल एफएमकि प्रस्तोता सपना खातीले गर्नुभएको थियो।
विशेष अवसरमा सहभागी महिलाहरूले सन्देशमूलक देउडा खेल प्रदर्शन गरी कार्यक्रमको समापन गरिएको थियो। यस कार्यक्रममा वडा नं. १ र वडा नं. २ का महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले महिला सशक्तीकरण र समानताको अभियानमा सकारात्मक ऊर्जा प्रवाह गरेको आयोजकले जनाएको छ।

























