सहिद भीमदत्त पन्तको ७३ औँ स्मृति दिवस देशभर मनाइयो

Image

लोकेन्द्र ओझा, डडेल्धुरा | राष्ट्रिय सहिद किसान नेता भीमदत्त पन्तको ७३औँ स्मृति दिवस डडेलधुरासहित देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइएको छ। डडेलधुराको बागबजारस्थित भीमदत्त पन्तको सालिकमा दीप प्रज्वलन तथा माल्यार्पण गरी स्मृति दिवस मनाइएको हो। कार्यक्रममा सहभागीहरूले पुष्पगुच्छा अर्पण गर्दै सहिद पन्तप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

भीमदत्त पन्त स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकराज पन्तका अनुसार डडेलधुरासँगै कैलाली, कञ्चनपुर तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि स्मृति दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन्। उहाँका अनुसार पन्तको जन्मस्थल डडेलधुरा, क्रान्तिको उद्गमस्थल कञ्चनपुर तथा कैलालीका विभिन्न स्थानमा रहेका सहिद पन्तका सालिकमा माल्यार्पण, दीप प्रज्वलन, अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण तथा अनाथ बालबालिकालाई फलफूल वितरण गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भीमबाटिकामा आयोजित कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य रामनाथ योगी, जिल्ला शाखाका उपाध्यक्ष केशवराज पन्त, शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकाया, युवा समाजसेवी दीपक साउँदलगायतको सहभागिता रहेको थियो।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका–५, गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयअगाडि रहेको सहिद स्मारक भीमदत्त पन्त सामुदायिक वन प्रवेशद्वारमा सहिद पन्तको पूर्णकदको सालिक अनावरण गरिएको थियो। कार्यक्रममा सहिद पन्तका ९५ वर्षीय सहोदर भाइ सिद्धराज पन्त, गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र प्रसाद भट्ट, कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष लक्ष्मणराज पन्त, समाजसेवी प्रेमराज पन्त, लोकराज पाण्डेय लगायत स्थानीयवासीको सहभागिता रहेको थियो। स्मृति दिवसका अवसरमा प्रतिष्ठानका उपाध्यक्ष पुष्पराज पन्तले सहिद पन्तको जीवन र योगदानबारे प्रकाश पार्दै वि.सं. १९८३ मंसिर १७ गते डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–२, कारीगाउँमा जन्मिएका पन्त बाल्यकालदेखि नै संघर्षशील व्यक्तित्व भएको बताउनुभयो।

भारतमा अध्ययनका क्रममा स्वतन्त्रता आन्दोलन र राणाशासनविरुद्धको आन्दोलनबाट प्रभावित बनेपछि नेपाल फर्केर उहाँले किसान, गरिब तथा शोषित समुदायको अधिकारका लागि आन्दोलनको नेतृत्व गर्नुभएको उहाँले उल्लेख गर्नुभयो। प्रतिष्ठानका महासचिव यज्ञराज जोशीले सहिद पन्त नेपालको इतिहासमा विशेषगरी सुदूरपश्चिममा सामन्तवाद, जातीय छुवाछुत र किसानमाथिको शोषणविरुद्ध आवाज उठाउने क्रान्तिकारी किसान नेताका रूपमा चिनिने बताउनुभयो। उहाँका अनुसार भीमदत्त पन्तले भूमिहीन तथा उत्पीडित किसानलाई सङ्गठित गर्दै “कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो” भन्ने ऐतिहासिक नारा दिएका थिए। उहाँले “जसको जोत, उसको पोत” को अवधारणा अघि सार्दै भूमिको अधिकार, कमैया प्रथा अन्त्य तथा किसान मुक्ति आन्दोलनको नेतृत्व गर्नुभएको थियो।

सामाजिक सुधारका क्षेत्रमा पनि पन्तले जातीय विभेद र छुवाछुतविरुद्ध अभियान चलाउँदै दलित समुदायसँग सामूहिक भोजन गर्ने, उनीहरूकै हातबाट पानी पिउने तथा सामन्तहरूले किसानमाथि अन्याय गर्न प्रयोग गरेका नक्कली तमसुक जलाउने अभियान सञ्चालन गर्नुभएको थियो। त्यसैगरी खाद्यान्न अभावका बेला कञ्चनपुरको ब्रह्मदेव मण्डीका गोदामबाट नुन तथा खाद्यान्न गरिब जनतालाई वितरण गर्ने अभियान सञ्चालन गर्नुका साथै दलित, थारु र स्थानीय किसानलाई समेटेर ‘किसान मुक्ति सेना’ गठन गर्नुभएको थियो।

बझाङ, डडेलधुरा, डोटी, बैतडी, कैलाली र कञ्चनपुर लगायत क्षेत्रमा किसानलाई सङ्गठित गर्दै अन्याय र शोषणविरुद्ध आन्दोलनको नेतृत्व गरेका पन्तको बढ्दो प्रभावबाट त्रसित तत्कालीन शासक र स्थानीय सामन्तहरूको मिलेमतोमा वि.सं. २०१० साउन १७ गते डडेलधुराको जोगबुढामा हत्या गरिएको थियो। जोशीले भन्नुभयो त्यसपछि त्रास फैलाउने उद्देश्यले उहाँको टाउको काटी डडेलधुरा बजारमा सार्वजनिक रूपमा झुन्ड्याइएको इतिहासमा उल्लेख छ। नेपाल सरकारले वि.सं. २०७२ फागुन १९ गते भीमदत्त पन्तलाई राष्ट्रिय सहिद घोषणा गरेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन