बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा शुक्रबार एक दिने निःशुल्क बाली उपचार शिविर सम्पन्न भएको छ । खप्तडछान्ना गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं प्रगतिशिल युवा समाज, बझाङको सहजीकरणमा सञ्चालित ‘कृषि र पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ को आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
कृषि ज्ञान केन्द्र बझाङ र खप्तडछान्ना गाउँपालिका कृषि विकास शाखाको समन्वय तथा सहकार्यमा आयोजित शिविरमा स्थानीय कृषकहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
शिविरमा विशेष गरी यस क्षेत्रका किसानहरूले लगाउने बर्खे तरकारी अन्तर्गत टमाटर, काँक्रा, खुर्सानी र भन्टामा लागेको अत्याधिक किराको संक्रमण तथा धान बालीमा लागेको डढुवा (बलेको) र पहेंलो हुने समस्याको प्राविधिकहरूले निदान गरेका थिए ।
शिविरमा सहभागी ९४ जना किसानलाई रोग तथा किरा नियन्त्रणका लागि निःशुल्क जैविक विषादी समेत वितरण गरिएको छ । शिविरमा खप्तडछान्ना गाउँपालिका र कृषि ज्ञान केन्द्र बझाङका कृषि प्राविधिकहरूले किसानका समस्या प्रत्यक्ष हेरेर परामर्श दिएका थिए ।
कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंहले किसानहरूलाई व्यावसायिक कृषि तर्फ आकर्षित गर्न र बालीनालीमा लाग्ने रोगव्याधिको समयमै पहिचान गर्न यस्ता शिविरले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने, ‘किसानहरूले आफ्नो बालीनाली तथा फलफूलमा देखिएका विभिन्न रोग–किराहरूको नमुना ल्याएर निःशुल्क परीक्षण गराउनुभएको छ । रोगको प्रकृति हेरेर सोही अनुसारको उपचार पद्धति र जैविक विषादी प्रयोग गर्ने तरिकाबारे सिकाएका छौँ । यसले उत्पादन वृद्धिमा प्रत्यक्ष सहयोग पुग्नेछ ।’
यस्तै, कृषि र पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाका संयोजक विरेन्द्र बहादुर सिंहले शिविरमा किसानहरुको उत्साहजनक सहभागिता भएर परामर्श लिएको बताए ।
संयोजक सिंहले भने,‘हाम्रो लक्ष्य स्थानीय किसानका तत्कालीन समस्या समाधान गर्नु थियो ।, जसमा ९४ जना कृषकहरूले प्रत्यक्ष रूपमा सेवा लिएका छन् ।’ आगामी दिनमा पनि स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गर्दै यस्ता किसानमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने समेत संयोजक सिंहले बताए ।
























