काठमाडौं काठमाडौं उपत्यकामा तीन साता देखि गरिएको निषेधाज्ञा आज देखि भने केहि खुकुलो हुने भएको छ । निजी सवारी साधन का साथै सार्वजनिक सवारी साधन पनि जोर विजोर प्रणालीमा सञ्चालन हुने छन् । ट्याक्सीमा चालक सहित ३ जना र सार्वजनिक सवारी साधनमा कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । मालवाहक ढुवानीका साधनमा भने जोरविजोर प्रणाली लागु हुने छैन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज देखि पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी यस्ताे निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
यस्तै व्यवसायको किसिमको आधारमा पसलहरु भने निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ । परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको र अब सर्वसाधारण आफैं पनि सामाजिक दूरी कायम गर्दै सचेत हुनु पर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाई छ । भदौ ४ गतेदेखि लगातार दुई हप्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएको काठमाडौं उपत्यकामा भदौ १७ गतेदेखि २४ गतेसम्म केहि खुकुलो पारिएको थियो ।