बझाङ:बुंगल नगरपालिका–स्थित खिरातडी स्वास्थ्य चौकीको एम्बुलेन्स गत श्रावण महिनादेखि धनगढीको एक ग्यारेजमा थन्किएको छ। नगरपालिकाले आवश्यक चासो नदिँदा एम्बुलेन्स सञ्चालनमा आउन नसकेको स्थानीयले गुनासो गरेका छन्।
एम्बुलेन्स सेवा बन्द भएपछि खिरातडी स्वास्थ्य चौकीमा आउने बिरामीलाई रिफर गर्न समस्या भएको स्वास्थ्य चौकीले जनाएको छ। विशेषगरी गर्भवती महिलाहरूलाई समयमै अस्पताल पुर्याउन कठिनाइ भइरहेको बताइएको छ।
स्वास्थ्य चौकीका अनुसार हालै २ वर्षको न्युमोनिया भएको बालक ६० प्रतिशत अक्सिजन भएको नवजात शिशुलाई अक्सिजन सुविधा बिना नै बाहिर पठाउनुपरेको अवस्था आएको थियो। आपतकालीन अवस्थामा आमा रोइरहेको तर एम्बुलेन्स नहुँदा तत्काल उपचारका लागि लैजान नसकिएको जनाइएको छ।
धनगढीको ग्यारेजमा एम्बुलेन्स थन्किएको बेला यता बिरामीहरू ज्यान जोखिममा राखेर उपचारका लागि संघर्ष गर्न बाध्य भएको स्थानीयको भनाइ छ। बिरामीको नैसर्गिक अधिकारमाथि खेलवाड भइरहेको भन्दै उनीहरूले एम्बुलेन्स तुरुन्त सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।























