बझाङ – बझाङको बुंगल नगरपालिका–७ का ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन्। डेढ वर्षअघि रोजगारीको खोजीमा परिवारसहित कञ्चनपुर झरेका उनी हाल शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा बसोबास गर्दै आएका छन्।
घर नजिकै सानो आरन सञ्चालन गरेर उनले फलाम, तामा र सिल्भरबाट हँसिया, बञ्चरो, चक्कु, दाउ, माना, पाथीलगायत कृषि औजार तथा कडाही, फोला, चरु र कुडीलगायत घरायसी सामग्री निर्माण गर्दै आएका छन्। तयार भएका सामग्री उनी श्रीमतीसँगै गाउँ–गाउँ पुगेर बिक्री गर्ने गर्छन्।
आरनमा बनाइएका सामान बलिया र टिकाउ हुने भए पनि बजारमा कारखानामा बनेका सस्ता सामग्री बढेसँगै परम्परागत आरन पेसा संकटमा परेको शङ्करको भनाइ छ। आरनको काम निकै मेहनतिलो हुने र आम्दानी पनि स्थिर नहुने भएकाले मासिक करिब १० हजारदेखि ३० हजार रुपैयाँसम्म मात्रै आम्दानी हुने उनले बताए।
शङ्करलाई आरनको काममा उनकी श्रीमती किर्रा लुहारले साथ दिँदै आएकी छन्। उनीहरू दुवै जना सामान बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्ने गर्छन्, कतिपय ठाउँमा अझै पनि अन्न वा पशुसँग साटासाट गरेर सामान लिने चलन रहेको उनीहरूको भनाइ छ।
आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि उनका एक छोरा रोजगारीका लागि भारत गएका छन्। सरकारले आधुनिक उपकरण तथा मेसिनमा सहयोग गरे परम्परागत पेसा जोगाउन सहज हुने शङ्करको अपेक्षा छ।
शुक्लाफाँटा नगरपालिका–८ का वडा सदस्य लालबहादुर महराले वडामा आरन सुधारका कार्यक्रम सञ्चालन भइरहेका र आगामी दिनमा लुहार परिवारलाई पनि सहयोग गर्ने प्रयास गरिने बताएका छन्।























