बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुङ्गल नगरपालिका–४ स्थित बिजगडामा नेकपा एमालेको निर्वाचन परिचालन सचिवालय उद्घाटन गरिएको छ । बुधबार नेकपा एमाले बझाङ जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीले एक अनौपचारिक कार्यक्रमका बीच सचिवालय उद्घाटन गर्नुभएको हो ।
सचिवालय उद्घाटन गर्दै जिल्ला अध्यक्ष भण्डारीले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन संगठनलाई अझ सुदृढ र सक्रिय बनाइने बताउनुभयो । उहाँले निर्वाचन अभियानलाई योजनाबद्ध, व्यवस्थित र जनमुखी बनाउँदै जनताको घरदैलोमा पुग्ने कामलाई तीव्रता दिइने उल्लेख गर्नुभयो । फागुन २१ गतेहुने प्रतिनिधि सभा निर्वाचनमा एमाले बाट युवा नेता पार्टी ईन्चार्ज ऐन महर चुनावी मैदानमा हुनुहुन्छ ।
उहाँका अनुसार सचिवालयमार्फत मतदाता अभिमुखीकरण, चुनावी रणनीति निर्माण, प्रचार–प्रसार समन्वय, स्वयंसेवक परिचालन, जनसम्पर्क विस्तार, पार्टी गतिविधिको व्यवस्थापन तथा निर्वाचनसम्बन्धी सूचना संकलन र सम्प्रेषणलगायतका कार्यहरू सञ्चालन गरिनेछ । सचिवालयले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको सन्देश प्रवाह गर्ने प्रमुख आधारका रूपमा काम गर्ने बताइएको छ ।
कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरूले बझाङमा नेकपा एमालेप्रति जनसमर्थन बलियो रहेको भन्दै यसपटक निर्वाचनमा पार्टी विजयी हुने विश्वास व्यक्त गरेका थिए । एमालेले जिल्लाका सबै पालिकामा निर्वाचन पहिचालन सचिवाय स्थापना गरेको छ । सचिवालय स्थापनासँगै चुनावी गतिविधि थप प्रभावकारी र गतिशील हुने अपेक्षा गरेका छन् ।
सचिवालय उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टी पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सचिवालय सञ्चालनमा आएसँगै बुङ्गल क्षेत्रमा नेकपा एमालेको चुनावी चहलपहल थप बढ्ने देखिएको छ ।

























