बझाङ – बझाङ जिल्लाको बुङ्गल नगरपालिका–७ डाडागाउँ स्थायी घर भई हाल श्रीकृष्ण माध्यमिक विद्यालय भोटखोला–४ लिङ्ङ्गम गोलामा प्राथमिक तहमा कार्यरत शिक्षक बिसन बोहराको उपचारका क्रममा निधन भएको छ।
३५ वर्षको उमेरमा शिक्षक बोहराको गएराति भारतको कर्नाटक राज्यस्थित सेन्ट जॉन्स मेडिकल कलेज अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
बोहरा विगत चार महिनादेखि बोन म्यारोसम्बन्धी समस्याबाट पीडित रहनुभएको थियो। सुरुमा ललितपुरस्थित अल्का अस्पताल र काठमाडौँको सिभिल अस्पतालमा उपचार गराउँदा उहाँको शरीरमा रगतको कमी देखिएको थियो। थप जाँचपछि बोन म्यारोसम्बन्धी गम्भीर समस्या पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपालमा उपचारको सम्भावना नदेखिएपछि मंसिर महिनामा उहाँलाई थप उपचारका लागि भारतको कर्नाटक राज्यस्थित सेन्ट जॉन्स मेडिकल कलेज अस्पताल लगिएको थियो। अस्पतालले करिब ३२ लाख रुपैयाँमा उपचार सम्भव हुने बताएपछि उहाँ उपचाररत रहनुभएको थियो। तर उपचारकै क्रममा गएराति उहाँको निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार बोहराले गत वर्ष शिक्षक सेवा आयोगद्वारा लिइएको परीक्षामा स्थायी रूपमा नाम निकाल्न सफल हुनुभएको थियो। यसअघि उहाँ सरस्वति माध्यमिक विद्यालय नानरा डिलाशैनी र महादेव माध्यमिक विद्यालय अठपालिमा शिक्षण सेवा गर्दै आउनुभएको थियो।
शिक्षक बोहराको असामयिक निधनको खबरले परिवार, विद्यालय र सम्पूर्ण गाउँ शोकमा डुबेको छ।
























