बुंगल – बुङ्गल नगरपालिका वडा नम्बर ९ मा रहेको जनचेतना आधारभूत विद्यालय भेडीगैरामा शौचालय नहुँदा विद्यार्थीहरू दिसापिसाबका लागि जंगल जान बाध्य भएका छन्। विद्यालयमा अध्ययनरत ३७ जना विद्यार्थी शौचालयको अभावका कारण दैनिक रूपमा समस्या झेल्नुपरेको छ।

विद्यालयका निमित्त प्रधानाध्यापक जगत बोहराका अनुसार विद्यालयको अवस्थाबारे अहिलेसम्म वडा सरकार तथा स्थानीय सरकार बेखबर जस्तै रहेको छ। राज्यको तर्फबाट विद्यालयप्रति कुनै चासो र चिन्ता नदेखिएको गुनासो गर्दै उहाँले शौचालय निर्माणलगायत विद्यालय व्यवस्थापनमा वडा सरकार र स्थानीय तहले सहयोग गरिदिन माग गर्नुभएको छ।
निमित्त प्रधानाध्यापक बोहराले आफू यही पुस ७ गतेदेखि विद्यालयको जिम्मेवारी सम्हालेको जानकारी दिनुभयो। यसअघि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी रङ्गलाल जोशीले सम्हाल्दै आउनुभएको थियो। जोशी भदौ ३ गते अनिवार्य अवकासमा गएपछि करिब पाँच महिना विद्यालय नेतृत्वविहीन अवस्थामा रहेको र आफू सुर्यौदय आधारभूत विद्यालय मजिउनबाट सरुवा मिलाएर यहाँ आएको उहाँको भनाइ छ।
निमित्त प्रधानाध्यापक बोहराका अनुसार पूर्व प्रधानाध्यापक जोशीले विद्यालयको आर्थिक कारोबारमा केही रकम विद्यालयलाई फिर्ता गर्न बाँकी रहेको जानकारी आएको छ, तर हालसम्म उक्त रकम फिर्ता नभएको बताउनुभयो।
विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको जनाउँदै उहाँले शौचालय निर्माण त टाढाको कुरा, सामान्य शैक्षिक सामग्री जस्तै मार्करसमेत व्यवस्थापन गर्न समस्या भइरहेको बताउनुभयो।
आर्थिक अभाव र शिक्षकलाई समयमै तलब दिन नसक्दा विद्यालयमा विगत ६–७ वर्षदेखि कार्यरत एक जना निजी शिक्षकले दुई–तीन वर्षसम्म तलब नपाएपछि काम छोडेको पनि जानकारी दिनुभयो। हाल विद्यालयमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई एक जना शिक्षिका र एक जना शिक्षकले मात्र पढाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।
























