बझाङ । बुंगल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधि जित्ने विद्यालयका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप रु १० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। बुंगल नगरपालिका खेलकुद समितिको आयोजनामा मंगलबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उपप्रमुख बोहराले नगरभित्रका विद्यालयस्तरीय खेलाडीहरूलाई खेलकुदतर्फ आकर्षित गर्न र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उक्त पुरस्कार घोषणा गरिएको बताउनुभयो।
उहाँले राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न सहयोग पुर्याउने उल्लेख गर्दै यस्ता कार्यक्रमले भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। “खेलकुदले विद्यार्थीको प्रतिभा पहिचान गर्न र उनीहरूलाई अगाडि बढ्न हौसला दिन्छ,” उहाँले भन्नुभयो।
उपप्रमुख बोहराले प्रतियोगितामा सहभागी सबै विद्यालयका खेलाडीहरूलाई शुभकामना दिँदै हार–जीतभन्दा पनि खेल भावना र अनुशासनलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। नगरपालिकाले आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुंगल नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयका छात्र–छात्राको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, दौड, भाला फाल, सटपुट र लङजम्पलगायतका खेल समावेश गरिएका छन्। खेलकुद समितिका अनुसार प्रतियोगिताले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, खेल भावना र सामुदायिक एकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
























