बझाङ – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, बझाङ शाखाको आयोजनामा वित्तीय साक्षरता तथा एकदिने बाख्रा पालन तालिम सम्पन्न भएको छ।केदारस्युँ गाउँपालिका–५ बगडी पाउटामा आयोजित उक्त तालिम कार्यक्रममा मातृभूमि लघुवित्त विजगडा शाखाका प्रबन्धक हरिलाल चौधरी सभापतित्वमा रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा लक्ष्मी जोशी रहनुभएको थियो।
कार्यक्रममा रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिलाल ठगुन्नालगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
तालिममा प्राविधिक प्रशिक्षक रमेश किरण विश्वकर्मा तथा मातृभूमि लघुवित्त कैलालीका कर्मचारी प्रेम बहादुर थापाले सहजीकरण गर्नुभएको थियो।
तालिमका क्रममा बाख्राको खोर निर्माण गर्ने तरिका, बाख्रालाई दिने उपयुक्त घाँस तथा आहार, भौगोलिक क्षेत्रअनुसार उपयुक्त बाख्राको जात छनोट गर्ने विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
उक्त तालिममा बुंगल नगरपालिका तथा केदारस्युँ गाउँपालिकाबाट ३० जना भन्दा बढी महिलाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
























