बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ र २ मा भाइरल ज्वरोको प्रकोप फैलिएसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ। पछिल्लो एक हप्तादेखि बालबालिका र वृद्धवृद्धामा उच्च ज्वरो आउने क्रम तीव्र बनेको छ।
स्थानीय बासिन्दा दिपु देव धामीका अनुसार बिरामीहरूमा हातखुट्टा दुख्ने, घाँटी दुख्ने, नाकबाट सिगान बग्ने, पेट दुख्ने र १०० डिग्री फारेनहाइटभन्दा माथिको ज्वरो आउने जस्ता लक्षण देखिएको छ।
काँटै सामुदायिक स्वास्थ्य इकाइका इन्चार्ज गोपाल धामीले जानकारी दिनुहुँदै भन्नुभयो, “बुंगल–१ मा केही हदसम्म बिरामीको चाप घटेको देखिए पनि वडा नम्बर २ मा दैनिक १५ देखि २० जनासम्म बिरामी आउँने गरेका छन्।”
उहाँका अनुसार भाइरल ज्वरो मौसम परिवर्तनसँग सम्बन्धित भएको अनुमान गरिएको छ। इन्चार्ज धामीले विशेषगरी बालबालिकामा यस्तो समस्या देखा पर्दा आत्तिन नहुने उल्लेख गर्नुभयो। “धेरैजसो बालबालिकालाई बहिरंग सेवाबाटै उपचार सम्भव हुन्छ। यद्यपि उपचारपछि पनि १०–१५ दिनमा पुनः ज्वरो आउन सक्छ,” उहाँले बताउनुभयो।
संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मी धामीले तातोपानी पिउन, झोलिलो तथा सुपयुक्त खाना खान, पर्याप्त आराम गर्न, सरसफाइमा ध्यान दिन र आवश्यक परेको अवस्थामा स्वास्थ्य संस्थाको सेवा लिन सुझाव दिनुभएको छ।
























