केदारस्युँ गाउँपालिका ३ मैताेलीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ ।
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा मैतोलीको पहिरो प्रभावित क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हाे ।
दलित सहयोग समाजको नेतृत्वमा तथा केदारस्यु गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रको समन्वयमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा २५ हजार भेटिभर सहित बाँस ६००, पीपल २००, बैँस ३००, कोईरालो ३००, अमला ५०, लालुपाते ५०, कपुर ५०, सल्ला ५०, रिठा ३०० र किम्बु १५० बिरुवा रोपिएको छ।

कार्यक्रमको प्रमुख अध्यक्षता केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले गर्नुभएको थियो।
विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी,डिभिजवन कार्यालय प्रमुख सम्भु प्रसादतिवारी,कृषिज्ञान केन्द्र प्रमुख खेमराज पनेरु,
सशस्त्र प्रहरी डिएसपी दुर्गा प्रसाद भट्ट, नेपाल प्रहरी डिएसपी युवराज भण्डारी,राष्ट्रिय अनुसन्धान विभागका डिएसपी भगिरथ बहादुर चन्द, र पत्रकार महासंघ अध्यक्ष डि.बि. बिष्टको उपस्थिति रहेको थियो।
कार्यक्रममा सुरक्षाकर्मी, गाउँपालिका कर्मचारी, दलित सहयोग समाजका परियोजना संयोजक रमेश बहादुर माली, विजय राज जोशी, किरण थापा, महेश नेपाली, सत्यराज कोइराला, प्रगतिशील युवा समाजकी सहजकर्ता माला चिमाडी, साथै मैतोली गाउँका लाभग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिहरूका भनाइहरूः
गाउँपालिका अध्यक्ष गणेश बोहराले भने:
“पहिरोको जोखिम न्यूनीकरण र हरियाली प्रवर्द्धनका लागि यो वृक्षारोपण अभियान ऐतिहासिक छ। यस्तो कार्यक्रमले वातावरण संरक्षणसँगै जनजीविकामा समेत सकारात्मक असर पार्नेछ।”
प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले भने:
“स्थानीय निकाय र संघसंस्थाबीचको सहकार्यले यस्तो ठुलो प्रयास सम्भव भएको हो। यसले दीर्घकालीन प्रभाव पार्नेछ र पहिरो जोखिममा रहेका बस्तीहरूलाई सुरक्षा दिनेछ।”

डिभिजन वन कार्यालय प्रमुख सम्भु प्रसाद तिवारीका अनुसार:
“वृक्षारोपण मात्र होइन, यसको संरक्षण पनि उत्तिकै महत्वपूर्ण हुन्छ। हामी प्राविधिक सहयोगमा सधैं तयार छौं।कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरुले भने:“परियोजनाबाट सुरु भएको यस्तो प्रयासले सामुदायिक सहकार्य बढाउने र वातावरणीय सचेतना फैलाउने कार्यमा टेवा पुर्याउँछ।”
दलित सहयोग समाजका पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजना संयोजक रमेश बहादुर मालीले भने:
“यो वृक्षारोपण कार्यक्रम परियोजनाको एक महत्वपूर्ण अभ्यास हो जसले दिगो वातावरणीय संरक्षण, आयआर्जन र समुदायको सशक्तिकरणमा योगदान पुर्याउनेछ।”उनका अनुसार, आगामी दिनमा वृक्षारोपण भएका क्षेत्रमा नियमित अनुगमन, संरक्षण र सामुदायिक स्वामित्वलाई सुनिश्चित गरिनेछ।
कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, पत्रकार महासंघ, प्रगतिशील युवा समाज, गाउँपालिका कर्मचारी, स्थानीय लाभग्राहीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा मैतोली गाउँका बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस वृक्षारोपण कार्यक्रमले प्राकृतिक विपद् न्यूनीकरण, जलस्रोत संरक्षण, माटो कटान नियन्त्रण तथा वातावरण संरक्षणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
























