बुंगलका यार्सागुम्बा संकलक घर फर्किन थाले, जोखिम र अवसरसँगै जीवनयापन गर्दैँ

Image

बझाङ – बझाङको बुंगल नगरपालिकाको थान पाटन, तालशैनसहितका विभिन्न लेकाली क्षेत्रहरूमा यार्सागुम्बा संकलनका लागि गएका स्थानीय बासिन्दाहरू अहिले धमाधम घर फर्किन थालेका छन्।

बैशाख महिनाको सुरुआतमै परिवारको आर्थिक अवस्था सुधार गर्न, बालबच्चाको पढाइ खर्च जोहो गर्न तथा घरखर्च जुटाउन यार्सागुम्बा टिप्न लेक लागेका स्थानीयहरू अहिले असार महिनासँगै सुरु भएको रोपाइँको सिजनका कारण घर फर्किन थालेका हुन्।

बुंगल नगरपालिका–२ का स्थानीय हर्क धामीका अनुसार पाटनमा यार्सा संकलन गर्नु निकै जोखिमपूर्ण छ। “यहाँ ज्यान जोखिममा राखेर यार्सा टिप्नुपर्छ। कहिलेकाहीं राम्रो कमाइ हुन्छ, तर कतिपय वर्ष यार्सा कम पाइन्छ। भेडाबाख्राले चरिचरन गर्दा पनि यार्सा नपाइने समस्या छ,” उहाँले गुनासो गरे।

त्यस्तै बुंगल नगरपालिका–१ का अर्का स्थानीय हरिष बोहराका अनुसार वर्षेनी दर्जनौं स्थानीयहरू सपरिवारै महिनौँसम्म पाटनमा बस्छन्। “पाटनको जीवन सजिलो छैन। चिसो, हिमपात र डरलाग्दा भिरपाखा त पार गर्नुपर्ने हुन्छ नै। कतिपय त पाटनमै ज्यान गुमाउँछन्। तर बाध्यता यस्तै छ। यार्सागुम्बा नै हाम्रो मुख्य आम्दानीको स्रोत बनेको छ,” बोहराले बताए।

प्रत्येक वर्ष बैशाखदेखि असारसम्मको तीन महिना यार्सागुम्बा संकलन मुख्य काम हुन्छ। यस अवधिमा गाउँहरू सुनसानजस्तै हुने गर्दछन्। असार सुरु भएसँगै खेतिपातीका लागि गाउँ फर्किने क्रम बढेको हो।

यार्सागुम्बा संकलन : जोखिम र अवसर दुबै

यार्सागुम्बा संकलनले धेरैको जीवनयापन सजिलो बनेको छ। यार्साबाट आउने आम्दानीले बालबालिकाको पढाइ, घरखर्च र स्वास्थ्य उपचारमा ठूलो सहारा पुगेको छ। तर जोखिम भने उत्तिकै छ। मौसम खराब हुँदा हिमपात, चिसो र पहिरोका कारण यार्सा संकलकहरूले ज्यान गुमाउनु पर्ने घटना बारम्बार दोहोरिएको छ।

स्थानीयहरूका अनुसार यार्सा संकलन क्षेत्र सुरक्षित बनाउने र आपतकालीन उद्धार तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाउनेतर्फ स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी छ। उनीहरू यार्सा संकलकहरूको सुरक्षाका लागि थप प्रभावकारी नीति र योजना ल्याउन आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन