शून्यतामा डुबेका गाउँ: सम्भावना बीचको संत्रास

Image

कर्ण धामी, बझाङ : कुनै समय गाउँको साँझ घरको आँगनमा चुलोको धुँवा सल्किन्थ्यो, आमा बुवाको माया, छरछिमेकको साथ, र मित्रताको मधुर सम्बन्धले गाउँ जिउँदो देखिन्थ्यो। तर अहिले गाउँ रित्तिएका छन् — मानौं कोख रित्तिएको आमा झैं, सुनसान पहाड, र चराको स्वरमा समेत खिया लागे झैं लाग्ने यो समयले हाम्रो गाउँको आत्मालाई नै ओझेलमा पारिदिएको छ।
बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका, जुन हिमाल, पहाड र तराईको संगम झैं देखिने भौगोलिक विविधताले सम्पन्न छ, अहिले जीवनशून्यताको प्रतिनिधि उदाहरण बनेको छ। यो पालिकामा रहेका सातै वडामा करिब ७० प्रतिशत जनसंख्या अन्यत्र—भारत, काठमाण्डौ वा विदेश पलायन भइसकेका छन्। गाउँमा युवापुस्ता झन्डै हराएका छन्, जसले गर्दा गाउँको आत्मा रित्तिएको अनुभूति हुन्छ।

स्थानीय बिरामी हुँदा बोक्नलाई मान्छेसम्म भेटिँदैन। बिरामी बिरेन्द्र धामी भन्छन्, “महिला दिदीबहिनीहरुले स्टेचरमा बोकेर ल्याउनु भयो, गाह्रो भएरै भए पनि बाँचें।” यो भनाइ गाउँमा मानवजन्य संकट कति गहिरो बनिसकेको छ भन्ने कुराको तीतो यथार्थ हो।

शिक्षाको हालत पनि त्यस्तै छ—धनीले शहर पठाउँछन्, बाँच्न गाह्रो भएका परिवारका छोराछोरी मात्रै सरकारी विद्यालयमा छन्। किसानका बारीमा उब्जिएका गोलभेँडा, काउली, मुला कुहिन्छन्—बजार छैन, योजना छैन, नीति छैन। खेतीपाती र जडिबुटीमा अपार सम्भावना हुँदाहुँदै पनि सरकारी ध्यानको अभावले गाउँले किसानका सपना बारीमै सडिरहेका छन्।
वडा नं ७ मात्र होइन, समग्र गाउँपालिका यार्सागुम्बा, बनलशुन, चिरेतो लगायत दुर्लभ जडिबुटीले भरिएको छ। यी जडिबुटी राष्ट्रिय आयमा उल्लेखनीय योगदान दिन सक्ने क्षमतायुक्त छन्, तर उत्खनन, संरक्षण र बजारीकरणमा सरकार गम्भीर छैन। गाउँमा दुईवटा सामुदायिक वन छन्, जसमार्फत लाखौं राजस्व उठाउन सकिन्छ तर नियमन नभएको स्थानीय सुनिल धामिले बताए ।
सम्भावना छ—पर्यटन, कृषि, जडिबुटी, सामुदायिक वन, प्राकृतिक स्रोततर दु:खको कुरा, सम्भावनाभन्दा बेवास्ता ठूला छन्। गाउँमा चुलो बल्दैन, बुढा आमाबुबालाई पानी दिने मान्छे छैन, छोरा छोरी परदेशमा छन्। अफन्तको मन चिसो, सम्बन्ध च्यातिएको, र समाज विखण्डनतर्फ अग्रसर भएको देखिन्छ।

यो समस्या एउटै गाउँको मात्र होइन, देशका हजारौं ग्रामिण बस्तिहरूको साझा कथा हो। यो देशमा तामाखानी, सुनखानी, पेट्रोलियम स्रोतजस्ता अनगिन्ती सम्भावनाले भरिएको छ—तर व्यवस्थापन छैन, नीति छैन, दृष्टिकोण छैन स्थानिय जनक बोहरा बताउँछन ।
आजको यथार्थ यही हो — जबसम्म व्यक्ति परिवर्तन हुँदैन, सामाजिक चेतना आउँदैन, तबसम्म समृद्धि र सुशासनको सपना केवल सपना नै रहन्छ।

सबै क्षेत्र, सबै वर्ग, सबै समुदाय मिलेर सामाजिक, आर्थिक र नैतिक पुनर्निर्माणमा लाग्नैपर्छ। गाउँ रित्तिनु भनेको देशको मूल आत्मा रित्तिनु हो। त्यसैले अब पनि ढिलो भइसकेको छैन—सम्भावनाको जरोमा विकासको मल हाल्न जरुरी छ। नत्र सुनसान गाउँ मात्र होइन, हाम्रो भविष्य नै मसानघाट बन्ने खतरा बढ्दो छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन