बझाङ,। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले बझाङ जिल्लाका सबै १२ स्थानीय तहलाई ३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ बराबरको अनुदान विनियोजन गरेको छ। संघीय सरकारको बार्षिक बजेट मार्फत प्राप्त यो रकमले जिल्लाको विकास योजनाहरूलाई तिव्रता दिने अपेक्षा गरिएको छ।
विनियोजित अनुदानमध्ये सबैभन्दा बढी रकम बुंगल नगरपालिकाले प्राप्त गर्नेछ। बुंगललाई आगामी वर्षका लागि ५० करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, सबैभन्दा कम १७ करोड ४२ लाख रुपैयाँ साइपाल गाउँपालिकालाई छुट्याइएको छ, जुन भूगोलका हिसाबले दुर्गम तथा सेवा–सुविधाबाट वञ्चित क्षेत्र मानिन्छ। जिल्लाका अन्य पालिकाहरूमा पनि आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा स्थानीय विकास योजनाहरू संचालन गर्न पर्याप्त बजेट विनियोजन गरिएको छ।
पालिकागत अनुदान विवरण यस्तो छः
बुंगल नगरपालिका ५० करोड ६० लाख
जयपृथ्वी नगरपालिका ४२ करोड ५७ लाख
केदारस्युँ गाउँपालिका ४३ करोड ४५ लाख
खप्तडछान्ना गाउँपालिका ३१ करोड ८१ लाख
छविसपाथिभेरा गाउँपालिका ३४ करोड ३४ लाख
तलकोट गाउँपालिका २६ करोड ७ लाख
थलारा गाउँपालिका ३४ करोड २४ लाख
दुर्गाथली गाउँपालिका २७ करोड ३९ लाख
मष्टा गाउँपालिका ३२ करोड ७४ लाख
बित्थडचिर गाउँपालिका ३० करोड ४१ लाख
सुर्मा गाउँपालिका २५ करोड ४२ लाख
साइपाल गाउँपालिका १७ करोड ४२ लाख
बजेट वितरणको सन्दर्भमा स्थानीय तहमा जनसंख्या, भौगोलिक दुर्गमता, क्षेत्रफल, सेवा प्रवाहका आवश्यकता र विगतको खर्च क्षमतालाई समेत आधार मानेर रकम विनियोजन गरिएको जनाइएको छ।
























