बुंगल नगरपालिका वडा नं ७ र ८ का बासिन्दा बारम्बार अध्यारोमा बस्न बाध्य

Image

बझाङ — बुंगल नगरपालिका वडा नम्बर ७ र ८ का स्थानीयवासी सानीगाड लघु जलविद्युतमा बारम्बार समस्या आउँदा बारम्बार अध्यारोमा बस्न बाध्य भएका छन्।

विसं २०७० सालदेखि सञ्चालनमा आएको सानीगाड लघु जलविद्युत ५० प्रतिशत सरकारको अनुदान र बाँकी वडा नम्बर ७ र ८ को लगानीमा निर्माण गरिएको थियो। सुरुका केही वर्षसम्म राम्रो सेवा दिएको भए पनि पछिल्ला दुई तीन वर्षयता विद्युत आपूर्ति अस्थिर हुँदै गएको छ।

स्थानीयवासीहरूका अनुसार यो लघु जलविद्युत सानो क्षमताको भएकाले बारम्बार मर्मत गर्नुपर्ने र कहिले काम गर्ने, कहिले बन्द हुने अवस्थाले जनजीवनमा प्रतिकूल असर परिरहेको छ। बत्ती नहुँदा पठनपाठन, साना उद्योग, मिल र घरेलु उद्योगहरू समेत प्रभावित भएका छन्।

यसैबीच, अत्तरियाबाट बझाङसम्म राष्ट्रिय प्रसारण लाइन विस्तारको क्रममा हाल बुंगल नगरपालिका वडा नम्बर ६ को कफलसेरीसम्म लाइन पुगिसकेको छ। वडा नम्बर ६ का अध्यक्ष राम बहादुर देवारका अनुसार वडा र केही प्रतिशत अनुदानको सहकार्यमा राष्ट्रिय प्रसारण लाइनको सम्झौता गरिएको हो।

स्थानीयवासीहरू भने वडा नम्बर ७ र ८ का जनप्रतिनिधिहरूले राष्ट्रिय प्रसारण लाइनलाई सानीगाड जलविद्युतको पावर हाउससम्म विस्तार गर्न कुनै पहल नगरेको गुनासो गर्छन्। उनीहरूका अनुसार वडा सरकारबाट केही आर्थिक र भौतिक सहयोग भएमा राष्ट्रिय प्रसारण लाइन विस्तार सहज हुने थियो।

स्थानीय बिरेन्द्र बोहराले भने, “लाइन विस्तार गर्न थोरै लगानी भए पुग्छ, जनप्रतिनिधिले इच्छाशक्ति देखाए हामी पनि सहयोग गर्न तयार छौं।” उनले राष्ट्रिय प्रसारण लाइन पावर हाउससम्म ल्याउन टाढा नरहेको र तत्काल समाधान सम्भव भएको बताए।

अहिलेको अवस्थामा विद्युत अभावले बालबालिकाको पठनपाठनमा समेत प्रतिकूल असर परेको भन्दै स्थानीयवासीहरूले तत्काल समस्या समाधान गर्न माग गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन