बझाङको सुनकुडा क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले अब माया मेट्रो हस्पिटलमा १५ प्रतिशतसम्म छुटमा स्वास्थ्य सेवा पाउने भएका छन्। धनगढी उपमहानगरपालिका–३, चटकपुरमा रहेकाे माया मेट्रो हस्पिटल प्रा.लि. र सुनकुडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बीच सोमबार औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा माया मेट्रो हस्पिटलका निर्देशक डा. मोहन साउद र स्ववियु अध्यक्ष कपिल बिष्टले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले निश्चित सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।
स्ववियु अध्यक्ष बिष्टका अनुसार विद्यार्थीहरूलाई गुणस्तरीय, सुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य हो। आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिनेछौं।
यो सहकार्यले क्याम्पससँग आबद्ध सम्पूर्ण व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ। विद्यार्थीहरूको हितमा गरिएको यस कदमलाई सबैले सकारात्मक रुपमा लिएका छन ।