बझाङ – दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत गठित ७५ वटा उत्पादक समूहहरू केदारस्यु गाउँपालिकाको समन्वयमा विधिवत् रूपमा दर्ता गरिएका छन्।
उत्पादक समूहहरूको दर्ता बहुउद्देश्यीय मानिएको छ। यस पहलले बाल समृद्धिमा योगदान दिने लक्ष्य राखेको छ, जसअनुसार ति परिवारका सदस्यहरूलाई कृषि, पशुपालन तथा उत्पादनसँग जोड्ने अवसर प्रदान गरिनेछ। यसले पोषण सुधार, बालबालिकाको शिक्षामा टेवा पुर्याउने तथा उत्पादक समूहहरूको दीर्घकालीन विकास सुनिश्चित गर्ने विश्वास लिइएको छ।
गाउँपालिकाले विश्वास लिएको छ कि यस दर्ता प्रक्रियाले समूहहरूलाई अन्य संस्था तथा कार्यालयहरूबाट आवश्यक सेवा प्राप्त गर्न सहज बनाउनेछ। साथै, यसले कृषि व्यवसायिकरण, उत्पादन वृद्धिमा योगदान पुर्याई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मद्दत गर्नेछ।
गाउँपालिका र परियोजनाले उत्पादक समूहहरूलाई रोजगारी स्रोत केन्द्र को रूपमा विकास गर्ने लक्ष्य लिएका छन्, जसले स्थानीय अर्थतन्त्रलाई सबल बनाउने अपेक्षा गरिनुकाे साथै उक्त महत्त्वपूर्ण दर्ता प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न पहल गरेकोमा दलित सहयोग समाज तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल परिवारलाई धन्यवाद ज्ञापन गरिएकाे छ ।