बझाङ – बुङ्गल नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको छ। १४ वटा विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा दुर्गा माध्यमिक विद्यालय, सिमालीले ६ स्वर्ण, ५ रजत, ३ कांस्य (कुल १४ पदक) जित्दै प्रथम स्थान हासिल गरेको छ।
जसमा प्रथम दुर्गा माध्यमिक विद्यालय, सिमालीले ६ स्वर्ण | ५ रजत | ३ कांस्य (कुल १४ पदक) द्वितीय – कफलसेरी माध्यमिक विद्यालय, कफलसेरीले ४ स्वर्ण | ४ रजत | २ कांस्य गरि (कुल १० पदक), तृतीय – केदार माध्यमिक विद्यालय, देउलीकोटले ४ स्वर्ण | ३ रजत | ६ कांस्य (कुल १३ पदक) हात पारेको छ । त्यस्तै सान्त्वना रत्न माध्यमिक विद्यालय, खोल्लेकले ३ स्वर्ण , ३ रजत गरि (कुल ६ पदक) प्राप्त गरेको छ ।

बुङ्गल नगरपालिकाका विद्यालयहरूले कुल ३० स्वर्ण, ३० रजत, ३० कांस्य पदक जित्दै खेलकुद क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेका छन्। विद्यार्थीहरूको अथक मेहनत र जोशले प्रतियोगितालाई रोमाञ्चक बनाएको बुङ्गल नगरपालिका खेलकुद समितिका अध्यक्ष शेर बहादुर कुँवरले बताउनुभयो।
अध्यक्ष कुँवरका अनुसार, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बुङ्गल नगरपालिकाका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गर्ने विश्वास गरिएको छ। समापन समारोहमा विद्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा खेल प्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। उत्कृष्ट खेलाडीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो।

यस प्रतियोगिताले बुङ्गलका युवा खेलाडीहरूलाई थप उर्जा प्रदान गर्दै भविष्यमा खेल क्षेत्रको उज्ज्वल सम्भावना निर्माण गर्ने अपेक्षा गरिएको छ।


























