बझाङ । बुंगल नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज उद्घाटन गरिएको छ । बुंगल नगरपालिका खेलकुद समितिको आयोजनामा चौथो संस्करणका रूपमा शुरु भएको प्रतियोगिताको उद्घाटन बुंगल नगरपालिका–४, सरस्वती माध्यमिक विद्यालयमा गरिएको हो ।
प्रतियोगिता अन्तर्गतका खेलहरू सरस्वती माविको खेलमैदान बिजगडा र कन्या माध्यमिक विद्यालयको खेलमैदान झापामा सञ्चालन गरिन लागिएको बुंगल नगरपालिका खेलकुद समितिका अध्यक्ष शेर बहादुर कुंवरले बताउनु भयो ।
प्रतियोगितामा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयहरूको सहभागिता छ । प्रतियोगितामाको पहिलो दिन आज भलिबल प्रतियोगिता शुरु गरिएको छ । आजको पहिलो खेल सीताराम मावि डौढ बुंगल नगरपालिका १० र सत्य माध्यामिक विद्यालय तोलिचौर बुंगल नगरपालिका ८ बिच भएकोमा सत्यमा मावि तोलिचौरले जित हात पारेको छ । भलिबल प्रतियोगिताका बाकि खेलहरु भोलि संचालन गरिनेछन् । त्यस्तै प्रतियोगितामा क्रमश बाकि खेलहरु सरस्वती माध्यमिक विद्यालय र कन्या माध्यमिक विद्यालय बटुलसेरामा लेखाईने भएका छन् ।
प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, भाला फाल, सटपुट र लङ जम्प लगाएतका खेलहरू समावेश गरिएका छन्। यस प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्नुका साथै, उनीहरूको प्रतिभा उजागर गर्ने सुनौलो अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
खेलकुद समितिका अनुसार, खेलले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। बुंगल पालिकाका नगर प्रमुख जय बहादुर धामीको प्रमुख आथित्यतामा भएको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा खेलप्रेमी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियोे । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगर प्रमुख जय बहादुर धामीले सहभागी सबै बिद्यालयहरुलाई शुभकामना व्यक्त गर्दै बुंगलको खेलकुद विकासका लागि आफ्नो तर्फबाट गर्न सकिने कुनैपनि सहयोगको लागि सधै तयार रहेको बताउनुभयो ।
प्रतियोगिताले नगरपालिका भित्रका विद्यालयहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराई सामुदायिक एकता र खेल भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
























