बझाङ – बुंगल नगरपालिका वडा नम्बर १, सोलास्थित भगवती माध्यमिक विद्यालयले सोमबार सेवाबाट निवृत्त भएका शिक्षक प्रेमपति जोशीलाई औपचारिक रुपमा विदाई गरेको छ। ६० वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएका जोशीलाई विद्यालयले एक विशेष कार्यक्रमका बीच बिदाइ गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि बुंगल नगरकार्यपालिकाका सदस्य निर्मला जोशी रहनुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थी, तथा विद्यालयका शिक्षक शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति थियो । शिक्षक प्रेमपति जोशीले लामो समयसम्म विद्यालयमा अध्यापन गराउँदै शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको स्मरण गर्दै उहाँलाई सम्मानका साथ विदाई गरिएको विद्यालयका प्रधानाध्यापक मान बहादुर धामीले बताउनुभयो।
विद्यालय परिवारले जोशीको शिक्षण यात्रालाई प्रेरणादायी भन्दै, उहाँको समर्पण, अनुशासन र ज्ञानले विद्यार्थीहरूलाई उज्जवल भविष्य बनाउन मार्गदर्शन गरेको बताएको छ । विदाई समारोहमा स्थानीय अभिभावकहरूले जोशीको सरल व्यवहार र शिक्षण शैलीले विद्यार्थीहरूलाई नैतिकता र अनुशासन सिकाएको भन्दै कृतज्ञता व्यक्त गरेका थिए।
























