बझाङ । केदारस्युँ गाउँपालिका वडा नं. २, ३, ६, ७, र ८ मा बालबालिकालाई लक्षित गरी खुत्रुके बचत सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रम दलित सहयोग समाज, प्रगतिशील युवा समाज, र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र बाल स्पोनसरसीप परियोजनाअन्तर्गत सञ्चालनमा आएको हो।
कार्यक्रममा २,५०० बालबालिकालाई बचतसम्बन्धी अभिमुखिकरण प्रदान गर्नुका साथै बचतको डाटा संकलन पनि गरिएको छ। दलित सहयोग समाजका फिल्ड अफिसर किरण थापाका अनुसार यो कार्यक्रमले बालबालिकालाई बचतको महत्त्वबारे सचेत बनाउँदै उनीहरूको आर्थिक क्षमता अभिवृद्धिमा टेवा पु¥याउने लक्ष्य लिएको छ।
सहजकर्ताहरू सुरेश नेपाली, सत्य राज कोईराला, कल्पना नेपाली, सरिता बोहरा, माला चिमाडी, चन्दन धामी, र जनक बोहराले बालबालिकालाई बचतको महत्त्व, दीर्घकालीन फाइदा, र भविष्यमा यसले पार्ने सकारात्मक प्रभावबारे जानकारी गराएका थिए। साथै, अभिमुखिकरण कार्यक्रमअन्तर्गत पोषण मैत्री स्थानीय शासन, बाल मैत्री स्थानीय शासन, बाल विवाहका नकारात्मक असर, खानेपानी, सरसफाइ, र स्वच्छता सम्बन्धी जानकारीसमेत प्रदान गरिएको छ। यस प्रकारका कार्यक्रमले बालबालिका र समुदायमा दिगो आर्थिक विकास र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
























