बझाङ ; बझाङलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ आज एक औपचारिक कार्यक्रम गरी बझाङलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिद्वारा शुक्रवार आयोजित एक समारोहमा बझाङलार्ई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य मानव जीवनका लागी सबैभन्दा ठुलो सम्पति भएकाले सवै क्षेत्रले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने उहाँको भनाई रहेको थियो । साथै उहाँले कार्यक्रममा खोप पाउनु सवै वालवालिकाको जन्मसिद्ध अधिकार भएका कारण खोप लगाउने कुरामा कुनै पनि वालवालिका छुट्न नहुने बताउनुभयो । जिल्लामा जन्मदा धेरै वालबालिकाहरु खेप लगाउने भएपनि पछी विस्तारै त्यो संख्या कम हुनुको कारण अभिभावकसँगै बालबालिका पलायन हुनु रहेकाले अभिभावकले बालबालिकालाई खोप लगाउन छुटाउन नहुने सुझाव दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लामा पछिल्लो समय खोपका कार्यक्रम प्रभावकारी ढंगबाट अघाडी बढाइएकाले आगामी दिनमा पनि पालिकाले निरन्तरता दिन आवश्यक रहेको बताएका थिए । खोप लगाउनका लागी अभिभावक, स्थानीय सरकार र स्वास्थ्यकर्मीहरु चनाखो भएर लाग्नु पर्ने बतार्एका थिए । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख लालबहादुर धामीले जिल्लामा खोप लगाउने उमेरका सवै बालबालिकाहरुले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगो पना घोषणा गरिएको बताउनुभयो । जिल्लामा रहेका ५९ महिनामुनीका सवै वालवालिकालाई खोप दिइएको उहाँले बताउनुभयो । पहिलो खोप लगाएका बालबालिकाहरु अन्तिम खोप दिदाँ त्यो संख्या घट्दै जानु दुःखद भएको उहाँको भनाई रहेको थियो ।
जिल्लाका १२ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बझाङका खोप अधिकृत भानुभक्त जोशी बताउनुभयो । जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उहाँको भनाई रहेको छ । जिल्ला खोप समन्वय समितीका उपप्रमुख तथा जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण विष्टको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला जिल्लाका १२ वटा पालिकाका जनप्रतिनिधी सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।