बझाङ । सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग संञ्चालनमा आएको छ । गयराति जयपृथ्वी नगरपालिका वडा नम्बर -७ तमैल बजार नजिक र जालेबगर नजिक सडकमाथिबाट पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध बनेको थियो ।
अवरुद्ध भएको सडक अहिले अपरान्ह्बाट मात्रै संञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । तमैलमा अवरुद्ध भएको सडकमा ठुलो ढंगा खसेको कारण सडक ढिलो गरि संञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडकमा स्काभेटर नै आवश्यक भएकोले स्काभेटर नपाउँदा सडक खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय बझाङमा प्रमुख प्रहरी नायव उपरिक्षक भरत शाहले जानकारी दिनुभयो ।
जयपृथ्वी राजमार्ग यसअघि पनि गेग्रान बहाब तथा ढुङ्गा खसेका कारण जालेबगर र माल्नालाग्ने भीरमा अवरुद्ध भएको थियो । बझाङमा भारी वर्षा भइरहेकाले अन्य ठाउँमा पनि पहिरो, ग्रेगान बहाब हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यात्रा गर्दा सुरक्षित हुन आग्रह गरेको छ ।